फागुनमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छः मन्त्री खरेल
मंसिर २४, २०८२ | काठमाडौं
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनमा सञ्चारिका समुहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि तयारी गरिसकेको बताउनुभयो ।
मन्त्री खरेलले जेनजी आन्दोलनको प्रमुख मुद्दा भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उहाँको भनाइ थियो । उहाँले पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश हाक्ने आँट गर्न समेत सुझाव दिनुभयो ।
प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वको मन्त्रीमण्डलमा रहेको भन्दै मन्त्री खरेलले देशमा परिवर्तनको महसुस भएको उल्लेख गर्नुभयो । यस्तै,सञ्चार सचिव राधिका अर्यालले लैंगिक हिंसा तथा सूचना प्रविधिले ल्याएको डिजिटल हिंसाले समानता कायम गर्न अवरोध गर्ने बताउनुभयो । उहाँले मन्त्रालय आर्टिफिसियल इन्टिलिजेन्स एआई नीति बनाउन लागि परेको जानकारी दिनुभयो।










