आयोगमा वयानको विषय स्वेच्छिक होः एमाले अध्यक्ष ओली

मंसिर २५, २०८२ | काठमाडौं

एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गौरिबहादुर कार्की नेतृत्वको आयोगमा बयान आफ्नो स्वेच्छिक विषय भएको बताउनुभएको छ ।

 पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत नेताले आयोगमा बयानका लागि जानुपर्ने भनी दिएको धारणामा ओलीले आपत्ति समेत जनाउनुभएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँगको सम्वादमा ओलीले प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्ष पोखरेलको एउटै विचार भएको टिप्पणी गर्नुभयो ।

आयोगमा ओलीले वयान दिनुपर्ने विषयमा एमालेभित्र फरक धारणा व्यक्त भएको पाइन्छ । अध्यक्ष ओलीसहित उहाँ पक्षीय नेताहरुले आयोगको औचित्यमाथि प्रश्न उठाएका छन् भने वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई लगायतले अध्यक्ष ओलीले आयोगलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

 संस्थापन इतर पक्षको अभिव्यक्तिमा ओली पक्षधरले भने आपत्ति जनाएका छन् । यसैक्रममा नेता महेश बस्नेतले प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीबीच केही दिनअघि भएको भेटवार्तामा अध्यक्ष ओलीलाई पक्राउ गर्नेबारे छलफल भएको आरोप लगाउनुभएको छ ।

बस्नेत एमाले अध्यक्ष ओली निकट नेता मानिनुहुन्छ । जेन जी आन्दोलनपछि सेनाको व्यारेकमा केही दिन बसेपश्चात् ओलीका लागि नेता बस्नेतले भक्तपुरको गुन्डुमा घरको व्यवस्था गर्नुभएको बताइन्छ ।  


प्रतिक्रिया