दुई महामन्त्रीले गर्न लागेको विशेष महाधिवेशन हुन नदिने कंग्रेस संस्थापन पक्षको रणनीति

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०८२ | काठमाडौं

नेपाली कंग्रेसको संस्थापन पक्षले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गर्न लागिएको विशेष महाधिवेशन हुन नदिने रणनीति बनाएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका पारित भएपछि रुष्ट भएका महामन्त्री थापा र शर्माले यही पुष मसान्तभित्र विशेष महाधिवेशन गर्ने तयारी गरेकोमा संस्थापन पक्षले रोक्ने रणनीति बनाएको हो । 

यसैक्रममा संस्थापन पक्षका ५ जना प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य सकिएकाले नियमित महाधिवेशनमा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।

महामन्त्रीद्धयले अनावश्यक रुपमा विशेष महाधिवेशनको मुद्धा उठाएको संस्थापन पक्षको आरोप छ । सहमहामन्त्री किशोरसिंह राठौरले विशेष महाधिवेशनमा नआउन प्रतिनिधिलाई आग्रह गरिएको बताउनुभयो ।

यसैबीच, कंग्रेस नेता कृष्ण सिटौलाले विशेष महाधिवेशनको औचित्य नभएको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले चुनावी तयारीमा लाग्नुपर्ने भएकाले पार्टीको निर्णय अनुसार अघि बढनुपर्ने बताउनुभयो ।

यता, विशेष महाधिवेशन पक्षधर नेताहरुले आफूहरुको माग अनुसार अघि बढ्न पार्टी नेतृत्वलाई फेरि ध्यानाकर्षण गराएका छन् । नेता देवराज चालिसेले विधानको व्यवस्था विपरित पार्टीले निर्णय गर्न नसक्ने बताउनुभयो ।

पुषको अन्तिम साता गर्ने भनिएको नियमित महाधिवेशन हुन नसकेपछि कार्यसम्पादन समितिले बहुमतका आधारमा २०८३ सालको वैशाख अन्तिम साता मात्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । महाधिवेशनको बिषयलाई लिएर आसन्न निर्वाचन अघिप्रमुख राजनीतिक शक्ति नेपाली कंग्रेसमा विवाद चर्किदै गएको छ । 


प्रतिक्रिया