एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन
पुस २२, २०८२ | काठमाडौं
एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि विभिन्न निर्णय गरेको छ । चुनावमा सहभागी हुने निर्णय गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
सचिवालय बैठकले गठन गरेको ७ सदस्यीय घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई सदस्य बनाइएको छ । त्यस्तै, उपाध्यक्ष रामवहादुर थापाको नेतृत्वमा चुनाव परिचालन समिति बनाइएको छ ।
यसैबीच, एमालेले प्रदेश संयोजक तोकेको छ । प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी नेताहरुलाई जिम्मेवारी दिइएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो ।
एमालेका अनुसार कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ ।









