मौसममा आंशिक बदली

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०८२ | काठमाडौं

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहँदा मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । 

आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया