नवाज सरिफलाई तत्काल रिहा गर्न अदालतको आदेश

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७५ | बीबीसी

भष्ट्राचारको आरोपमा १० बर्षको जेलसजाय काटिरहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न अदालतले आदेश दिएको छ । १० बर्षमध्ये २ महिनाको जेलसजाय भुक्तान गरिसकेका सरिफले अदालती निर्णयविरुद्ध पेश गरेको पुनरावेदनका आधारमा अदालतले तत्काल रिहा गर्ने आदेश दिएको हो ।

उनीबिरुद्ध भ्रष्टाचारको पर्याप्त प्रमाण नरहेको अदालतको ठहर छ । क्यान्सरका कारण सरिफ श्रीमती कुलसुमको मृत्यु भएको एक सातापछि अदालतले सो फैसला सुनाएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

भष्ट्राचारको आरोपमा सरिफसँगै उनकी छोरी मर्यमलाई समेत अदालतले जेल सजाय सुनाएको थियो । श्रीमती कुलसुमको अन्तिम संस्कारका बेला बाहिर निस्कन पाएका उनीहरुलाई पछि पुन: जेल लगिएको थियो । अदालतको पछिल्लो आदेशपछि उनीहरु संभवत आजै धरौटी छुट्ने जनाईएको छ ।

पूर्वप्रधानमन्त्री सरिफले बेलायतमा अकुत सम्पत्ती लुकाएको र थुप्रै जग्गा परिवारका नाममा राखेको भन्ने आरोप पुष्टि भएको भन्दै उनलाई गत जुलाई महिनामा अदातलले १० बर्ष र उनी छोरीलाई ७ बर्षको जेलसजाय सुनाइएको थियो । सरिफले आरोप निराधार र राजनीति प्रेरित भन्दै खण्डन गर्दै आएका छन् ।


प्रतिक्रिया