प्रधानसेनापतिको भारत भ्रमणले दुई मुलुकबीच न्यानोपन बढाउने आशा

पुस २७, २०७५ | काठमाडौं

‘सैनिक कूटनीति’ चिसिएका बेला नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणमा निस्कनु भएको छ । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा ७ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत जानुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

बिमस्टेक राष्ट्रहरुको सैनिक अभ्यासमा नेपाली सेना सहभागी नभएपछि भारतीय पक्षको असन्तुष्टि बढेको छ । सो सैन्य अभ्यासमा नेपाल समेत सहभागी हुने सहमति थियो तर, पछि सरकारले सेनालाई सहभागी नहुन निर्देशन दियो ।

भूराजनीतिक सम्बन्धको असरले सैनिक कूटनीति पनि पिल्सिएका बेला भएको प्रधानसेनापति थापाको भ्रमणले दुई मुलुकबीच न्यानोपन बढाउने आशा नेपाली सेनाको छ । यद्यपि, दुई देशीबचको सैनिक कूटनीति नेपाली सेनाका कारणले नभई राजनीतिक कारणले चिसिएको हो ।  

प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा जानुभएका थापाले भोलि राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थाल सेनाको मानर्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ । नेपालमा भारतीय सेना प्रमुख र भारतमा नेपाली सेना प्रमुखलाई मानर्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले समकक्षी स्थल सेनाध्यक्ष विपिन रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

यस्तै, साउथ वेस्टर्न कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको समेत थापाले भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी हेमन्तराज कुँवरले बिदाइ गर्नुभएको हो ।

थापाको अनुपस्थितमा बलाधिकृत रथी कुँवरले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ । प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ । 


प्रतिक्रिया