डा केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न नेपाल चिकित्सक संघको माग

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५ | काठमाडौं

– नेपाल चिकित्सक संघले चार दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको आमरण अनशनलाई सदाको लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ । चिकित्सक संघले आज विज्ञप्ति जारी गर्दै १६ औं पटक अनशन बस्दा उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना हुन सक्ने भन्दै जीवन रक्षाका निम्ति विशेष पहल गर्न समेत माग गरेको छ । डा. केसीसँग सरकारले पटक–पटक सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन गर्नुको सट्टा चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुर्‍याएको संघले जनाएको छ । 

यसैबीच चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । डा केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसीना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकले बताएका छन् । हजोदेखि उहाँको छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकाले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन सुझाइएको छ । संसदीय समितिले डा. केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित १६ औं पटक इलाममा सत्याग्रह शुरु गर्नुभएको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग डा. केसीले अघि सार्नु भएको छ ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना सुरु गर्नुपर्ने र कञ्चनपुरकी बालिका बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत उहाँको माग छ । 

 


प्रतिक्रिया