"टिकापुर घटना" : रोशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

फाल्गुन २२, २०७५ | काठमाडौं

जिल्ला अदालत कैलालीले टिकापुर घटनामा, प्रतिनिधि सभाका सांसद रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, गंगाराम डगौरा लगायतलाई जनही २५ वर्षको कैद सजायको फैसला गरेको हो ।

अदालतले सोही घटनामा पूर्पक्षका लागि थुनामा रहेका नाबालक श्रवण चौधरीलाई १० वर्षको कैद हुने ठहर गरेको छ । यस्तै, लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीतबहादुर ठगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई तीन वर्षको कैद हुने ठहरेको छ ।

फैसला अनुसार लक्ष्मण चौधरीसहित ११ जनालाई आज तथा चुन्कीलाल आगामी ३० गते थुना मुक्त गर्न अदालतले आदेश दिएको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद तोकिएकोमा उनी पनि आजै रिहा हुने छन् । सोही घटनाका आरोपित नुरुल अलि जागा भनिने तहा“वर अलि, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीलाई अदालतले सफाई दिएको छ ।

एक बालक र ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी २०७२ भदौ ७ गते टिकापुरमा भएको घटनामा सांसद चौधरीलाई मुख्य अभियुक्त मान्दै मुद्दा दायर भएको थियो । चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा छन् ।


प्रतिक्रिया