ओलम्पिक छनोटको लागि नेपाली टोलीको अभ्यास सुरु

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७५ | काठमाडौं

- साफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सीमित भए लगत्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ओलम्पिक छनोटको दोस्रो चरणको खेलका लागि अभ्यास थालेको छ । छनोट प्रतियोगिता चैत्र १८ गते देखि म्यानमारमा सुरु हुनेछ । ओलम्पिक भने आगामी वर्ष जापानमा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा टोलीले आजबाट अभ्यास सुरु गरेको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिनुभयो ।

दोस्रो चरणको खेलका लागि नेपाली टोली चैत १७ गते म्यानमार जानेछ । नेपालले आफ्नो पहिलो खेलमा चैत २० गते आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको सम्हु ए मा म्यानमारसँगै भारत र इन्डोनेसिया छन् । पहिलो चरणमा पनि नेपालले म्यानमार र भारतसँग प्रतिस्पर्धा गरेको थियो । 

समूह बी मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान तथा समूह सी मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन् । दोस्रो चरणबाट ३ समूहका शीर्ष स्थानमा रहने टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि नै बाई पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्डले तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । 

 


प्रतिक्रिया