ललिता निवासको जग्गा व्यक्तिको हुन सक्दैन : सभापति देउवा

वैशाख ९, २०७६ | बिर्तामोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोडिन नमिल्ने बताउनु भएको छ । उहाँले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको जमिन भएको स्पष्ट पार्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गर्नुभयो ।

उहाँले सो जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा–नातिको हुनुपर्ने जिकीर गर्नुभयो । ‘प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास र सभामुख निवास रहेको जमिन सुवर्ण शम्शेरको हो । सरकारले सो जमिन अधिग्रहण गरेर प्राप्त गरिसकेको छ’ देउवाले भन्नुझयो, ‘सरकारले अधिग्रहण गरिसकेको जमिन कसरी व्यक्तिको हुन्छ ? यदी व्यत्तिको नाममा हुन्छ भने त्यो जमिन सुवर्ण शम्शेरका छोरा–नातिको नाममा हुनुपर्ने हो । अन्यको नाममा के आधारले हुन्छ ?’ 

सोमबार झापाको चन्द्रगढी विमानस्थलमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले सरकार अधिनायकवाद लाद्नेतर्फ अग्रसर भएको आरोप लगाउनुभयो । स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको उहाँले बताउनुभयो ।

पत्रकारको प्रश्नमा सभापति देउवाले भोट नदिने अनि, कांग्रेस कमजोर पतिपक्षी भयो भनेर आलोचना गर्नुको तुक नरहेको भन्दै कटाक्ष गर्नुभयो ।  ‘भोटको बेलामा कांग्रेसलाई भोट नदिने । अनि, अहिले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर भयो भनेर आलोचना गर्ने ?’ उनको प्रश्न थियो । 

देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने बताउनुभयो । उहाँले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेश लगायत समितिहरु पार्टी भित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने आश्वास दिनुभयो । तर, पार्टी विधानअनुसार गठन गर्न बाँकी सबै समितिहरु आगामी महाधिवेशन अगावै गर्ने कि अहिलेकै अवस्थामा अघि बढ्ने भन्नेबारे अहिलेनै आफूले केही भन्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘विधानअनुसार समितिहरु गठन गर्न जरुरी छ । ती समितिहरु गठन गर्दा सबैलाई समेटेरै गठन गर्ने हो । तर, समितिहरु महाधिवेशन अगावै गठन गर्ने कि महाधिवेशनसम्म यसरी नै अघि बढ्ने भन्ने कुरा संक्रमणकालीन अवस्थामा रहेकाले अहिले नै यो विषयमा म केही भन्दिन ।’


प्रतिक्रिया