मोटरसाईकल पछाडी बस्नेलाई पनि हेल्मेट अनिवार्य 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्ने ब्यक्तिले समेत हेलमेट लगाउनुपर्ने नियम ल्याउने तयारी थालेको छ । महानगरीय ट्राफिक महाशाखाले आज पत्रकार सम्मेलन गरि दुर्घटना न्यूनीकरणका लागि यस्तो तयारी गरिएको जानकारी दिएको हो ।

उपत्यका भित्र भएका दुर्घटनाको विश्लेषण गर्दै तीन वटै जिल्लामा मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताउनुभयो । 

यातायात व्यवस्था विभागलाई यातायात व्यवस्था ऐनमा नै राखेर मोटरसाइकलमा सवार ब्यक्तिले हेटमेट लगाउनुपर्ने नियम ल्याउने प्रक्रिया ट्राफिक प्रहरीले सुरु गरेको हो ।

यसअघि २०६५ सालमा महाशाखाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागु गरेको थियो । सर्वत्र आलोचना भएपछि पछि सो नियम खारेज भएको थियो । अहिले भने ट्राफिक प्रहरीले ऐनमै व्यवस्था गरेर यो नियम ल्याउन लागि परेको छ । 

यसैबीच, चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा २ सय ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ९६ प्रतिशत मोटरसाइकल र स्कुटरमा सवार रहेका ट्राफिक प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया