संघीय संसदमा एकै दिन विभिन्न ८ वटा विधेयक

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनु अघि नै सरकारले आज एकै दिन विभिन्न ८ वटा विधेयक संघीय संसदमा  टेबल गरेको छ । प्रतिनिधि सभामा ७ वटा र राष्ट्रिय सभामा एक वटा विधेयक टेबल भएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक बैठकमा टेबुल गर्नुभएको छ ।

 यस्तै, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र औद्योगिक व्यवसाय विधेयक, वन तथा वातावरण मन्क्री शत्तिबहादुर बस्नेतले वन विधेयक र वातावरण संरक्षण विधेयक प्रस्तुत गनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी आठौं संशोधन विधेयक टेबुल गर्नुभयो । 

आजैको बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन, अघिल्लो आर्थिक वर्षको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्वन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको अघिल्लो आर्थिक वर्षको प्रतिवेदन पेस गर्नु भयो । 

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आगामी आर्थिक वर्षको पूर्ण बजेटमाथि मुलुकभरबाट प्राप्त सुझाव सहितको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएपछि सरकारले सो अगावै केही महत्वपूर्ण विधेयक संसदमा प्रक्रियामा अघि बढाएको हो । जेठ १५ पछि प्रतिनिधि सभाका बैठकहरु बजेटमाथिको छलफलमा केन्द्रित हुने भएकाले सो अगावै ती विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईने संघीय संसद सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया