भारतीय तल्लो सदन लोकसभा निर्वाचनको मतगणना जारी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | बीबीसी

भारतीय तल्लो सदन लोकसभा निर्वाचनको मतगणना जारी छ । आजै सकिने भनिएको जारी मतगणनाको नतिजाले आगामी पाँच वर्षका लागि भारतीय सत्ता संरचना र समीकरण तय गर्नेछ । स्थानीय समायानुसार मतगणना बिहान ८ बजेदेखि जारी छ ।

राजस्थान, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार लगायत मतगणना सुरु भएका स्थानमा सत्तारुढ एनडीएले अग्रता लिएको छ । विश्वमा सबैभन्दा बढी ९० करोड मतदाता सहभागी भएको निर्वाचन सातौं चरणमा गरी गत आईतबार मात्र सकिएको थियो ।

बहुमतका लागि कुनै एक पार्टी वा गठबन्धनले कुल ५ सय ४३ सिटको तल्लो सदनमा २ सय ७२ सिट जित्नुपर्नेछ । निर्वाचनमा २ हजार पार्टी र ८ हजार उम्मेदवार सहभागी थिए । निर्वाचनमा यसअघि जस्तै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको भारतीय कंग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि सन् २०१४ मा सम्पन्न आम निर्वाचनमा भारतीय जनता पार्टीले २ सय ८२ सिट जितेको थियो । यस निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारको परीक्षाका रुपमा समेत हेरिएको छ ।

भारतमा कतिपयले मोदीलाई एक विभाजनकारी व्यक्तिका रुपमा हेर्ने गरेका छन् । हिन्दू मुस्लिमका मुद्दा उठाएर भड्काएको आरोप पनि उहाँमाथि लाग्ने गरेको छ । यद्यपि, मोदीको कस्तो प्रभाव छ भन्ने कुरा यस निर्वाचनको नतिजाले देखाउनेछ । 


प्रतिक्रिया