कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्व रुपालाई

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | काठमाडौं

कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणको उपाधि अनिश थापामगरले जितेका छन् । महिला तर्फ विश्व रुपा बुढाले उपाधि हात पारिन । विजेताले ५० हजार रुपैयाँ र हिरोको डुएट स्कूटर पाए । यसैगरी दोस्रोको उपाधि दुर्गा बुढा र तेस्रोको कृष्ण बस्नेतले जितेका छन् । महिला तर्फ सन्तोषी श्रेष्ठ दोस्रो भइन ।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन् । हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो । 

कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करीब ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २० दशमलव ८ सेकेन्डमा दूरी पूरा गरे ।

दोस्रो भएका अजय तामाङले १७ मिनेट ५५ दशमलव ९५ सकेन्डमा दुरी पूरा गरे । उत्तम श्रेष्ठले १८ मिनेट १२ दशमलव ४६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । 

महिलातर्फ काजल विष्टले २१ मिनेट २३ दशमलप ५ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन् । जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सुनिता गौतम २४ मिनेट ९ दशमलव ७ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भइन् । कर्पोरेट–मिडियाको दौडमा करीब २३ सय जनाको सहभागिता थियो ।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको भ्रमण प्याकेज उपलब्ध गराएको छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ ।

यो स्पर्धा थापाथलीबाट सुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुनः सोही रुट फर्कंदै थापाथली पुगेर टुंगिएको हो । हिृवलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए 

मोहन बहादुर बस्नेतले तेस्रो स्थान हासिल गरे । महिलातर्फ रजनी राई दोस्रो र बविता थापा तेस्रो भइन् । हिृवलचियर रेस थापाथलीबाट सुरु भई माइतीघर मण्डलाबाट पुनः थापाथली फर्केर सम्पन्न् भएको थियो । यो स्पर्धाका विजेता महिला र पुरुषले समान २०–२० हजार रुपैयाँ पाए । दोस्रो हुने प्रतियोगीले १०–१० र तेस्रो हुनेले ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

एन्टी पोलुसन रनको नारा दिइएको नवौं संस्करणको यस प्रतियोगितामा करीब ३ हजार ५ सय सहभागी थिए । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । बैशाख २२ देखि जेठ ९ सम्मको नाम दर्ता समयमा हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हिृवलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले सहभागिताका लागि नाम दर्ता गराएका थिए । 

हाफ म्याराथनमा मात्र १ हजार २ सय ७० जनाको सहभागिता रहको छ । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका छन् । हिृवलचियर दौडतर्फ २० जनाको सहभागिता रहेको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स हाताबाट आज बिहान ७ देखि सुरु हुने दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गरे । अघिल्लो संस्करणमा २ हजार ५ सय ६० जनाले सहभागिता जनाएका थिए ।

हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथली आएर सम्पन्न हुनेछ । ५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सम्पन्न भएको थियो । 

हाफ म्याराथनको आठ वर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् । दुवै आ–आफ्नो विधाका साविक विजेता हुन् । कान्छीमायाले पाँच पल्ट र हरिले चारपल्ट उपाधि जितिसकेका छन् । यस संस्करणमा कान्छीले तयारी नगरेको भन्दै सहभागिता जनाएकी छैनन् । 


प्रतिक्रिया