प्रमुख सेनानी कार्की बर्खास्त

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | काठमाडौं

- नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की भ्रष्टाचारको आरोपमा बर्खास्त भएका छन् । गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगो सहितको फैसला गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । प्रमुख सेनानी कार्की कालिसिद्धी गण उदयपुरका प्रमुख थिए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कार्कीले ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो । कार्कीले कालिसिद्धी गणमा रहँदा सरकारी कोषको रकम अनियमितता गरेको भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो । सोही उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले कार्कीलाई दोषी ठहर गर्दै ‘कोर्ट मार्सल’का लागि सिफारिस गरेको थियो । छानविनपछि अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि फैसला सुनाइएको हो । सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । 


प्रतिक्रिया