नेपाली सेनाले प्रयोग गर्ने हातहतियार प्रदर्शनीमा 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३२, २०७६ | सुर्खेत

नेपाली सेनाले गरेका विभिन्न गतिविधि तथा प्रयोग गर्ने विभिन्न सामग्रीबारे जानकारी दिन कालीबक्स गण, एयरपोर्ट व्यारेकमा प्रर्दशनी आयोजना गरिएको छ । कर्णाली प्रदेशमा पहिलोपल्ट आयोजना गरिएको प्रर्दशनीमा विभिन्न हातहतियार, युद्धकला यन्त्र, तस्बिर, नमूना प्रर्दशनी, भिडियो लगायत सामग्रीका एक दर्जन स्टल छन् ।

नेपाली सेनाको उत्तर–पश्चिम पृतनाले आयोजना गरेको प्रर्दशनी ४ दिनसम्म चल्नेछ । प्रर्दशनीमा पृतना मातहतका विभिन्न गण तथा गुल्मले स्टल राखेका छन् । प्रदर्शनीको उत्तर–पश्चिम पृतनापति सरोजप्रताप राणाले उद्घाटन गर्नभयो । कार्यक्रममा नेपाली सेनाका विभिन्न गतिविधिबारे आगन्तुकलाई जानकारी दिइनेछ । 

पृतनापति राणाका अनुसार सेनाले प्रयोग गर्दै आएका सबै सामग्री र कार्यलाई प्रर्दशनीमा समेटिएको छ । सैनिक–नागरिक सम्बन्ध बढाउन र सेनाका गतिविधि सबैलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको पृतनापति राणाको भनाइ छ ।

‘सेनाले शान्ति स्थापनार्थ विश्वका विभिन्न स्थानहरुमा गरेका कार्य, विपत् व्यवस्थापनमा गरेको योगदान तथा विकास निर्माणमा खेलेको भूमिकालाई प्रर्दशनी मार्फत देखाउन खोजिएको हो,’ पृतनापति राणाले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा नेपाली सेनाको संलग्नता र विभिन्न सामाजिक कार्यबारे समेत सहभागीलाई जानकारी दिइनेछ ।’ 

पृतनाका अनुसार परम्परागत देखि अत्याधुनिक शैन्य सामग्री विभिन्न स्टलमा राखिएको छ । प्रर्दशनी सबैका लागि खुला रहेको सेनाले जनाएको छ । नेपाली सेनाबारे चासो राख्ने व्यक्तिका लागि प्रर्दशनी उपयोगी हुने पृतनाले जनाएको छ । पृतनाका अनुसार विभिन्न सामग्रीबारे सैन्य अधिकारीले सहभागीलाई जानकारी दिनेछन् । कार्यक्रममा सेना र सहभागीबीच विभिन्न विषयमा अन्तर्क्रिया समेत गरिनेछ । 


प्रतिक्रिया