तीन न्यायाधीशलाई कारबाही गर्ने न्याय परिषदको निर्णय

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

करीब ४ हजार किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनाका आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिने उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई कारबाही गर्ने न्याय परिषदले निर्णय गरेको छ ।

तत्कालीन न्यायाधीश थिरबहादुर कार्की र उमेशकुमार सिंहलाई ७ दिनभित्र सफाई पेश गर्न पत्र काटिएको परिषद स्रोतले जनाएको छ । यस्तै आरोपितलाई न्यून धरौटीमा छोडेको आरोपमा अनुसन्धानको घेरामा तानिएका न्यायाधीश साधुराम सापकोटालाई न्यायपरिषदले सचेत गराउन नपर्ने कारण सहित स्पष्टिकरण दिन पत्र काटेको छ । 

तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेल सहित न्यायाधीश सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र जनक पाण्डेको मुद्दा भने हाललाई तामेलिमा राख्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । सुन तस्करी र शाक्य हत्या घटनामा इमान्दारीपूर्वक कर्तब्य पालन नगरेको उजुरीपछि उच्च अदालत विरटनगरका ८ न्यायाधीशलाई न्यायपरिषद्मा तानेर अनुसन्धान गरेको थियो । 

जिल्ला अदालतको आदेशलाई चुनौती दिंदै उच्च अदालत विराटनगर पुगेका आरके भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, राजकुमार दारुका, एसपी विकाशराज खनाल, राम तिवारी, लगायतलाई धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको आरोप उनीहरुमाथि छ । 


प्रतिक्रिया