सचिवहरुले मलाई झुक्याए : उद्योग मन्त्री यादव

असार २३, २०७६ | काठमाडौं

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मन्त्रालयका सचिवहरुको गल्तीका कारण सरकार विवादमा परेको आरोप लगाउनु भएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको आरोप लगाउनुभयो ।

सचिवहरुले आफूलाई गुमराहमा राख्दा गलत निर्णय गर्न पुगेको उहाँले बताउनु भएको हो । महत्वपूर्ण निर्णयमा आफूले ध्यान नपुर्‍याउँदा सबै कुरा नबुझी सचिवहरुमा निर्भर हुँदा आफू चुकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘देश र जनताका लागि जे राम्रो हुन्छ त्यही निर्णय गर्ने पक्षमा म छु । अलिअलि त्रुटि हुन सक्छ । मैले ध्यान पुर्‍याउनुपर्ने थियो, सचिवहरुमाथि भर पर्नु हुन्न थियो । सबै फाइल आफूहरुले पनि हेर्नुपथ्यो । तर, सचिवहरुको विश्वास गर्दा आफू चुक्नु पर्‍यो ।’

सचिवहरुले मन्त्रीहरुलाई अन्धकारमा राखेको कारण यस्तो अवस्था सिर्जना भएको मन्त्री यादवको तर्क थियो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री कार्यालयका सचिवको पनि गडबढी छ, कृषि मन्त्रालयका सचिव र मेरै मन्त्रालयका सचिवको पनि गल्ती छ । कृषि मन्त्रालयका सचिवले त भन्नु पर्थ्यो नि हाम्रो क्षमता छैन भनेर । यसरी मन्त्रीहरुलाई गुमराहमा राख्न हुँदैन । निर्णय लिने बेलामा मन्त्रीहरुलाई अन्धकारमा राख्न हुँदैन ।’ थुप्रै विषयमा यस्ता गडबढी भईरहेको भन्दै उहाँले सचिवहरु पनि ठीक ठाउँमा बस्नुपर्ने बताउनुभयो । 

विषादी परीक्षणका लागि सरकारसँग पर्याप्त पूर्वाधार नभएको भन्दै उहाँले उपलब्ध संरचना र पूर्वाधारले विषादी परीक्षण गरेर छुट्याउने अवस्था नरहेको बताउनुभयो । यथाशीघ्र अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रयोगशाला निर्माण गर्ने निर्णय भएको भन्दै विषादी परीक्षण पूर्ण रुपमा बन्द नभएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मेरो कमजोरी के हो भने, कृषि मन्त्रालयसँग त्यो क्षमता छैन भनेमलाई मलाई थाहा भएन । मन्त्री ज्यूले के जवाफ दिनु भयो त्यो पनि थाहा भएन । उहाँकैबाट के सुझाव आएको छ भने, हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाण पत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र अर्न्ताष्ट्रिय स्तरको मान्यता प्राप्त प्रयोगशाला रहेको । अरु स्थानमा नरहेको । काठमाडौंमा मात्र रहेको उहाँले किटान गर्दै कृषि सचिवले पठाउनु भएको पत्रमा छ ।’

भारतीय दूतावासबाट तरकारी तथा फलफूलमा विषादी परीक्षण बन्द गर्न दबाब आएपनि सरकारले तत्कालका लागि नाकामा विषादी परीक्षण स्थगन गर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा उद्योग मन्त्री यादवले प्रधानमन्त्रीको ठाडो प्रस्तावमा निर्णय फिर्ता लिएको भन्ने बाहिर आएको कुरा सही नभएको बताउनुभयो ।

भारतीय दबाब कारण तरकारी तथा फलफूलमा कीटनाशक विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्ने भ्रामक प्रचार गरिएको बताउनुभयो । तत्काल विषादी परीक्षण स्थगनका लागि आफूलाई कुनै पत्र प्राप्त नभएको भन्दै उहाँले भन्नुभयो, ‘कसैको दबाबमा सरकारले विषादी परीक्षण रोकेको होइन । कहीँबाट दबाब आएको छैन ।’ 

हाल कृषि मन्त्रालयसँग उपलब्ध रहेको प्रयोगशाला र उपकरणबाट तरकारी तथा फलफूलमा विषादी रहे/नरहेको मात्र परीक्षण गर्न सकिनेछ । तर, आयातीत तरकारीमा भएका विषादी खान योग्य छ कि/छैन भनेर ती उपकरणबाट परीक्षण गर्ने क्षमता नरहेको उहाँले बताउनुभयो । सरकारको बचाउ गर्दै मन्त्री यादवले विषादी परीक्षको क्षमता वृद्धिका लागि सरकारले तत्कालका लागि स्थगन गरेको उल्लेख गर्नुभयो ।

कृषि मन्त्रालय अन्तर्गत विषादी तथा क्वारेन्टाइन परीक्षण ल्याब ७ वटा भएपनि ती प्रयोगमा छैनन् । तर, पूर्वाधारको अभाव देखाउँदै सरकारले विषादी परीक्षण तत्कालका लागि स्थगित गरेको थियो । सरकारसँग उपलब्ध प्रयोगशाला पनि आवश्यक कर्मचारी बिना प्रयोग बिहीन अवस्थामा छन् । आयात–निर्यातमा मुख्य भूमिका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो ।

आयातीत वस्तुको क्वारेन्टाइन तथा विषादी परीक्षण गर्ने दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । यी दुई मन्त्रालयबीच समन्वय नहुँदा सरकार पछि हट्नुपरेको जानकारहरु बताउँछन् । वाणिज्यको प्रस्तावमा तरकारी तथा फलफूल परीक्षण सुरु गरेको सरकारले उसकै प्रस्तावमा स्थगन गरेको छ ।

( यो पनि पढ्नुहोस् )

कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्ने क्षमता नै छैन : मन्त्री यादव 


प्रतिक्रिया