साउने संक्रान्ति मनाइँदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

- साउने संक्रान्ति पर्व देशभर आज मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा समेत लिने चलन छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाली प्रतिकात्मक रुपमा लुतो फयाँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । 

यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ ।

साउन महिनाभर शिवको पूजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् । पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेवलगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।


प्रतिक्रिया