प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | मकवानपुर

- मकवानपुरमा प्रहरी अबैध लागूऔषध गाँजा तस्करबीच गोली हानाहान भएको छ ।  प्रहरी र लागूऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुवै पक्षबीच गएको मध्यरातमा मनहरी गाउँपालिका–९ स्थित रजैया राप्तीखोलामा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्रि बाटो हुँदै अबैध लागूऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा विशेष सूचनाको आधारमा पुगेको प्रहरीमाथि गोली प्रहार भएसँगै प्रहरीले समेत जवाफी फायर गरेको हो । 

प्रहरीले सो घटनामा संलग्न मुख्य नाइके भनिएको राक्सिराङ–१, ढुङ्गेनका ४३ वर्षीय कुमार स्याङ्तान भन्ने राजु स्याङ्तानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको टोलीले स्याङ्तानलाई खोंचमा घेराहालेर नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एकथान, फायर भएको खोका एकथान, लाइभ राउण्ड एकथान, लागूऔषध गाँजा दुईपोकामा गरी ३१ केजी चारसय ग्राम समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक सिंहले भन्नुयभो, ‘गाँजा आोसारपसारमा संलग्न अन्य फायरिङ भएसँगै भाग्न सफल भएँ । तर, हामीले मकवानपुरको पश्चिमी क्षेत्रमा लागूऔषध कारोबार, अपराधिक क्रियाकलापहरुमा संलग्नलाई पत्राउ गर्न सफल भयौं ।’

उहाँका अनुसार पक्राउ परेका स्याङ्तान पूर्वपश्चिम राजमार्गमा विभिन्न समयमा सवारी र यात्रु लुट्ने कार्यमा समेत संलग्न रहेका थिए । प्रहरीको लागूऔषध नियन्त्रण व्युरो काठमाडौंले २०७१ साल पुस १६ गते स्याङ्तानलाई एकसय केजी गाँजासहित कीर्तिपुर नगरपालिका–१६ बाट उनलाई पक्राउ गरी कारबाही समेत गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक सिंहले भन्नुयभो, ‘हामीले उनलाई धेरै समयदेखि खोजी गरिरहेका थियौं । उनीमाथि हामीले तीनवटा मुद्धा दर्ता गराएका छौं । अन्य विषयमा समेत अनुसन्धान अगाडि बढिरहेको छ ।’ उहाँका अनुसार हातहतियार खरखजाना, ज्यान सम्बन्धि कसुर र लागूऔषध नियन्त्रण ऐनअन्तर्गत पटेक कायम गरी थप सजायको माग गरिएको छ । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी, राक्सिारङ र कैलाश गाउँपालिका लागूऔषध उत्पादन र कारोबार हुने मुख्य थलो हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७५/०७६ मा लागूऔषधसहित जिल्लाभरबाट दुईसय पाँचजनालाई पक्राउ गरेको छ । जसमध्ये एकसय ६१ जना पुरुष रहेका छन् । ३० जना भारतीय समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले एकवर्षको अवधिमा तीनहजार एकसय ८८ केजी गाँजा समेत नियन्त्रणमा लिएको थियो ।  

 


प्रतिक्रिया