दोर्दी खोलाले बगाएका ४ जनाको खोजी जारी

श्रावण ९, २०७६ | लमजुङ

लमजुङको दोर्दीखोलामा हिजो आएको बाढीले बगाएर बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले बिहानैबाट खोजी जारी राखेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको हेड बर्क्समा डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको थियो । तीमध्ये ४ जनाको मृत्यु भएको छ ।

उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक ४ जनाको आज सनाखत भएको छ ।

मृत्यु भएकामा बाराको जितपुर सिमराका सइद अन्सारी र पर्सा पोखरिया नगरपालिकाका शिवधुन चौधरी, सप्तरीको सप्तकोशी –८ का भुवनेश्वर चौधरीको र डडेल्धुराको आलिताल गाउँपालिका ६ का रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्त पाण्डेले बताउनुभयो ।

उनीहरुको शवको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर, यसको कारण यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया