विप्लव समूहका केन्द्रीय सदस्य सहित ३ पक्राउ 

श्रावण २२, २०७६ | रुकुम पश्चिम

- प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वका समूहको केन्द्रीय सदस्य सहित ३ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–६, मुरुबाट सो पार्टीका केन्द्रीय सदस्य सोही गाउँपालिका वडा नम्बर २ का ४८ वर्षीय श्यामबहादुर बोहरा पक्राउ परेका हुन् ।

यसैगरी सोही पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पूर्वका संयोजक आठबीसकोट नगरपालिका–११, का १८ वर्षीय हरि पुन र रुकुम पश्चिम जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२, का १९ वर्षीय प्रेम प्रशान्त बोहरालाई पनि प्रहरीले पक्रेको छ । 

केही दिन यता रुकुम पश्चिम, सल्यान र रोल्पाको सिमाना र त्यस आसपासका क्षेत्रमा विप्लव समूहका गतिविधि बढेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । मंगलबार राती १० बजे जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको डिएसपी खड्काले बताउनुभयो ।

प्रतिबन्धित नेकपाका गतिविधि बढेको भन्ने गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो ।  विप्लव समूहका नेकपाका केन्द्रीय स्तरका नेता जिल्लामा पक्राउ परेको यो पहिलो घटना हो । यस अघि प्रहरीले क्षेत्रीय ब्युरो सदस्य सम्मलाई पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेका पुन र बोहरा यस अघि पनि पक्राउ परेर छुटेका थिए । 

 


प्रतिक्रिया