किसानलाई परिचयपत्रका आधारमा अनुदान 

श्रावण २५, २०७६ | स्याङ्जा

स्याङ्जाको गल्याङ् नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गर्ने भएको छ । कृषि र पशुको योजना तर्जुमा गोष्ठीले नगरभित्रका कृषकलाई चार तहमा वर्गीकरण गर्ने निर्णय गरेको हो । 

कार्यविधि बनाएर सबै कृषकलाई परिचयपत्र बाँड्ने र परिचयपत्रका आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको गल्याङ् नगरपालिकाका पशु सेवा शाखा प्रमुख शुशिल अर्यालले बताउनुभयो । किसानलाई व्यवसायीक, व्यवसायीक उन्मुख, साना किसान र निर्वाहमूखी किसान गरी चार वर्गमा विभाजन गरिने छ । 

व्यवसायीक कृषकमा कम्तिमा ५ वटा दुधालु गाई/भैंसी, ५ वटा बाख्रा वा दश रोपनी जग्गामा व्यवसायीक उत्पादन गर्ने र ५ वटा टर्नेलमा व्यवसायीक कृषि खेतीमा संलग्न हुने कृषक पर्दछन् । यस्तैगरी, व्यवसायीक उन्मुख कृषकहरुमा २ देखि ४ वटा दुधालु गाई/भैसी, २ देखि ५ वटा बाख्रा र तीन रोपनीमा व्यवसायीक खेती गर्ने वा ५ वटा टनेलमा कृषि खेती गर्ने समेटिने छन् । 

नगरपालिकाले बनाएको मापदण्डमा साना किसान अन्तर्गत ५ देखि १० वटासम्म दुधालु गाई/भैसीँ, सोही संख्यामा बाख्रा, एकदेखि तीन रोपनीसम्म व्यवसायीक खेती गर्ने र ५ वटा टनेलमा कृषि खेती गर्ने किसान पर्ने छन् । यस्तै, निर्वाहमुखी किसान अन्तर्गत ५ वटासम्म दुधालु गाई/भैसी, एक रोपनी भन्दा कम क्षेत्रमा खेती गर्ने र एकदेखि ५५ वटासम्म बाख्रा पालन गर्ने किसान प्राथमिकतामा पर्छन् । 

नगरपालिकाले कोदो तथा गेडागुडी खेतीको संरक्षणका लागि उत्पादनमा आधारित अनुदान दिने निर्णय पनि गरेको छ । यसै वर्ष नगरपालिकाबाट दैनिक ५ हजार लिटर दूध उत्पादन गर्ने निर्णय भएका समेत नगरपालिकाका पशु सेवा शाखा प्रमुख अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूध बिक्रीमा प्रतिलिटर ५० रुपैयाँ अनुदान वितरण गर्ने योजना छ, भैंसी वा गाई खरिदमा लाग्ने नौ प्रतिशत व्याजमध्ये ४ प्रतिशत नगरपालिकाले व्यहोर्ने छ । गोठ निर्माण तथा मेसिन खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरिएको छ ।’ 

नगरपालिकाले सूर्यमुखी खेतीका लागि विशेष योजना ल्याएको बताएको छ । नगरभित्रका सबै क्षेत्रमा सूर्यमुखी उत्पादन गरी तेलको निर्यात समेत गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । पानी नजम्ने प्रायः सबै ठाउँमा सूर्यमुखी उत्पादन हुने भएकाले गल्याङ् नगरपालिका यसका लागि उपयुक्त क्षेत्र रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्व गौतमले बताउनुभयो ।

दुई सिजनमा उत्पादन हुने सूर्यमुखी खेती अहिले र माघ महिनाको अन्तिममा लगाउन सकिने गौतमले बताउनुभयो । यो खेती विस्तारका लागि किसानलाई बीउ र प्रविधि नगरपालिकाले नै उपलब्ध गराउने गल्याङ् नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया