भन्सार छलेर खाद्यान्न तस्करी, आयातमा कमी

श्रावण २८, २०७६ | मोरङ

चोरी तस्करी बढेपछि मोरङको विराटनगर भन्सार कार्यालयमा खाद्यान्न आयातमा कमी आएको छ । गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयमा विगत वर्षभन्दा १७ दशमलव १४ प्रतिशत कम खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत वर्ष ७ अर्ब ८८ करोड ९१ लख ४५ हजार मूल्य बराबरको २ लाख ५० हजार ८ सय १८ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

विगत वर्ष ८ अर्ब ८७ करोड ११ लाख ११ हजार मूल्य बराबरको ३ लाख २ हजार ६ सय ९८ मेट्रिक टन र आर्थिक वर्ष ०७३/७४ मा ३ लाख ५ हजार ३ सय २८ मेट्रिक टन खाद्यान्न आयात भएको तथ्यांक छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार यस प्रदेशमा खेती योग्य जग्गा खाद्यान्न उत्पादन दुबै घट्दै आएको छ ।

प्रदेश १ स्थित १४ जिल्लामा गएको १५ वर्षयता धानको उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय मेट्रिक टनमा समिति भएको छ । सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको र धानको वार्षिक उत्पादन १६ लाख ४७ हजार मेट्रि टन थियो । तर, १५ वर्षको अन्तरालमा हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेट्रिक टनमा झरेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

धान खेती हुने जग्गा पनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा समिति भएको छ । प्रदेशमा खाद्यान्न उत्पादनमा कमी आइरहेको अवस्थामा भन्सार कार्यालयको आयात घट्नुले भन्सार छलेर चोरी तस्करी भइरहेको प्रष्ट रहेको कृषि विज्ञ काशी चौधरीले बताउनुभयो ।  

जिल्लास्थित छोटी भन्सार नाकाबाट स्थानीय सुरक्षाकर्मीको मिलेमतोमा निर्वाध खाद्यान्नको चोरी तस्करी गरी पैठारी भएकोले भन्सार नाकाबाट आयात घटेको भन्सार स्रोतले जनाएको छ । 
खुला सीमाको फाइदा उठाउँदै भारतबाट तस्करी हुने क्रम अनियन्त्रित बनेको छ । तस्करहरूले धान, गहुँ, मकै भन्सार छलेर भित्र्याउने गरेका छन् । धनपालथान गाउँपालिका २ स्थित खैरबाना, तरिगामा, रंगेली, आमगाछी, डायनीयाको सिक्टी, बरडंगा, झुरकीया, घर्रुचोक, धनापट्टी, चोपरा, सौराभाग लगायत नाकाबाट खाद्यान्न चोरी तस्करी हुँदै आएको स्थानीय बताउँछन् । 

प्रत्येक नाकामै रहेको बजार, टोल र वस्तीमा खाद्यान्न खरिद बिक्री केन्द्र सञ्चालन हुँदै आएको छ । स्थानीय खरिद बित्री केन्द्र सञ्चालक व्यापारीहरुले भारतीय र नेपाली सुरक्षाकर्मीसँग सेटिङ्ग मिलाएर भारतीय व्यापारीसँग धान खरिद गरी नेपाली धान भन्दै बिक्री वितरण गर्दै आएको रंगेलीका सुरेन्द्र मण्डल बताउँछन् । भारतबाट भन्सार छलेर ल्याइएका धान, गहुँ र मकै प्रत्येक नाकासँगै जोडिएको दशगजाभरि छरिएको देखिन्छ । 

‘धनपालथानको खैरबानामा सीमावर्ती भारतीय गाउँ गरैयासम्मका कृषकको धान व्यापारीहरुले खरिद गरी भन्सार छलेर नेपाल भित्र्याउँदै आएका छन्,’ स्थानीय महावीर चौधरीले भने, ‘दशगजा नजिक स्थानीय इन्द्रदेव साह, श्रवण साह, उमेश साह, दिलिप साह, उचितलाल साह लगायत ६ वटा धान खरिद बिक्री गर्ने पसलमा धान, गहुँ र मकै भरिएको बोराको चाङ १२ हैं महिना हुन्छ ।’ 

ब्यापारीहरूले सुरक्षाकर्मीसँग ‘लाइन’ मिलाएर भारतबाट अवैध रूपमा धान, गहुँ र मकै भित्र्याउने गरेको चौधरी बताउँछन् । ‘खैरबानाबाट दैनिक ८/१० वटा ट्रक र १२/१४ वटा ट्याक्टरमा धान, गहुँ र मकै भन्ाुर छलेर सुनसरी मोरङ कोरिडोरका सेलर मिलहरूमा जाने गरेको छ,’ उनले भने, ‘यस्तै अवस्था अन्य नाकाहरुमा पनि रहेको छ । सुरक्षाकर्मीहरु तस्करलाई सलाम गर्छन् तर सीमावर्त्ती भारतीय बजारबाट घरायसी उपयोगका सामान ल्याउने सर्वसाधारणलाई अनेक दुःख दिंदै आएका छन् ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले विद्यमान खुल्ला सीमाना, गोदाम र धर्मकाँटाहरु सीमा क्षेत्रमै रहेको स्वीकार्नुभयो । प्रहरी एकलैले यो नियन्त्रण सम्भव नभएकोले स्थानीय नागरिकलाई आ–आफ्नो क्षत्रमा भइरहेको चोरी तस्करी लगायतका अवाञ्छित क्रियाकलापको बारेमा जानकारी गराउन आग्रह छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई जानकारी प्राप्त भएपछि तत्काल त्यस्ता कार्य गर्ने र त्यस्ता कार्यमा संलग्न सुरक्षाकर्मी लगायत जो कोही लाई पनि कारबाहीको दायरामा ल्याउँछौं ।’ 
सशस्त्र प्रहरी नेपाल नम्बर ३ गण टंकिसिनुवारीका सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्कीले आफू नयाँ भएकाले गत बर्षको बारेमा खासै जानकारी नभएको बताउनुभयो । 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले गत आर्थिक वर्षमा विगत आर्थिक वर्ष भन्दा १७ दशमलव १४ प्रतिशत कम अर्थात ७ अर्ब ८८ करोड ९१ लख ४५ हजार मूल्य बराबरको २ लाख ५० हजार ८ सय ८१ मेट्रिक टन खाद्यान्न आयात भएको बताउनुभयो । ‘गत वर्ष धान ४९ हजार ६ सय ५३, गहुँ मुडुला, जौ, जुनेलो ३६ हजार ३ सय ७, चामल र कनिका ४० हजार ४ सय ६४ र मकै १ लाख २४ हजार ३ सय ९४ मेट्रिक टन आयात भएको छ,’ उहाँले भन्नुभयो, ‘विगत वर्षमा धान ५५ हजार ८ सय ६१, गहुँ ३९ हजार ७ सय ६४, चामल र कनिका ५१ हजार ९ सय ४२ र मकै १ लाख ५५ हजार १ सय ३१ मेट्रिक टन आयात भएको थियो ।’


प्रतिक्रिया