नेकपाको गाँठो फुक्यो

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

काठमाडौँ — पार्टीका मुख्य विभागको नेतृत्व कसले लिने भन्ने लामो समयदेखिको रस्साकसी टुंग्याउँदै सत्तारूढ नेकपाले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टी एकताको १४ महिनापछि नेकपाले ३२ केन्द्रीय विभागको नेतृत्व टुंग्याएको हो।

पूर्वएमाले र पूर्वमाओवादी पक्षको तानातानमा परेको स्कुल विभागमा भएको सहमतिसँगै सबै विभागले नेतृत्व पाएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले पक्षका ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने निर्णय गरेको छ। यही विभागका लागि तत्कालीन माओवादी पक्षबाट दाबी गरिरहेका नारायणकाजी श्रेष्ठ प्रचार विभाग लिन तयार भएका छन्। पोखरेल र श्रेष्ठको जिम्मेवारीका विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पनि लामो समय छलफल भएको थियो।

यही विषयका कारण एकताका बाँकी काम लम्ब्याउन नहुने धारणा बनेपछि उनीहरूबीच विभागको नेतृत्वमा सहमति जुटेको हो । पार्टीको सैद्धान्तिक व्याख्या गर्दै प्रशिक्षण चलाउने जिम्मेवारी स्कुल विभागको हो। त्यसैले पार्टीको स्कुलमा पूर्वएमाले पक्षको धारणा प्रभावी बनाउने कि पूर्वमाओवादी पक्षको भन्नेमा विवाद थियो । यो विभागमा दुवै पक्षले दाबी गरेका थिए।

तत्कालीन एमाले पक्षका पोखरेलले पार्टी एकताका क्रममा भएको ‘जनताको जनवाद’ भन्ने सैद्धान्तिक लाइनभन्दा पूवएमालेले लिएको ‘जनताको बहुदलीय जनवाद’को वकालत गरेका थिए । पार्टीमा सहमति भएको दस्तावेजभन्दा फरक ढंगले अघि बढ्न खोजेपछि पोखरेललाई तत्कालीन माओवादी पक्षले रुचाएको थिएन।

त्यसैले पोखरेलको ठाउँमा माओवादी पक्षले श्रेष्ठलाई ल्याउन चाहेको थियो । श्रेष्ठ पनि नेकपाको एकतापछिको राजनीतिक दस्तावेज बनाउनेमध्येका नेता हुन्। सैद्धान्तिक विषयमा राम्रो ज्ञान राख्ने भएकाले श्रेष्ठले आफ्ना लागि उक्त विभाग उपयुक्त हुने भन्दै प्रचार विभागमा नबस्ने अडान लिएका थिए।

प्रमुख र उपप्रमुखहरू

अर्थ तथा योजना विभाग : सुरेन्द्र पाण्डे, डोरप्रसाद उपाध्याय

उद्योग तथा वाणिज्य विभाग : राधा ज्ञवाली, वामदेव क्षेत्री

उपभोक्ता हित तथा आपूर्ति : मातृका यादव, बलराम बाँस्कोटा

कृषि तथा भूमिसुधार विभाग : चक्रपाणि खनाल, हरि पराजुली

कोष तथा आर्थिक व्यवस्थापन विभाग : हरिबोल गजुरेल, कृष्णगोपाल श्रेष्ठ

खानेपानी तथा सरसफाइ विभाग : बिना मगर, ममता गिरी

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग : वर्षमान पुन, परशु मेघी गुरुङ

निर्वाचन विभाग : प्रदीप ज्ञवाली, खिमलाल देवकोटा

न्याय कानुन : रघुजी पन्त, मुक्तिनारायण प्रधान

पर्यटन प्रवर्द्धन : योगेश भट्टराई, पासाङ शेर्पा

प्रचार : नारायणकाजी श्रेष्ठ, सूर्यबहादुर थापा

प्रादेशिक मामिला : घनश्याम भुसाल, परशुराम तामाङ

स्कुल विभाग : ईश्वर पोखरेल, देवेन्द्र पौडेल

पुस्तकालय तथा अभिलेख : नारायणप्रसाद शर्मा, ज्ञानबहादुर भुजेल

भौतिक पूर्वाधार : रघुवीर महासेठ, हरि अधिकारी

युवा तथा खेलकुद : टोपबहादुर रायमाझी, ठाकुर गैरे

राजकीय मामिला : रामबहादुर थापा, गुरु बराल

वन तथा वातावरण : शक्ति बस्नेत, चूडामणि जंगली

विज्ञान तथा प्रविधि : गणेश साह, अरुण नेपाल

विदेश मामिला : माधवकुमार नेपाल, राम कार्की

शिक्षा तथा मानव स्रोत : गिरिराजमणि पोखरेल, विजय पौडेल

श्रम तथा रोजगार : गोकर्ण विष्ट, रामेश्वरराय यादव

संगठन : वामदेव गौतम, जनार्दन शर्मा

संसदीय विभाग : सुवास नेम्बाङ, देवप्रसाद गुरुङ

समाज कल्याण : केशवलाल श्रेष्ठ, गोपाल ठाकुर

सहकारी तथा गरिबी निवारण : विष्णु रिमाल, धर्मदत्त देवकोटा

सहरी विकास : लेखराज भट्ट, जगन्नाथ खतिवडा

सामान्य प्रशासन : लालबाबु पण्डित, रेखा शर्मा

साहित्य कला : मणि थापा

स्थानीय तह : युवराज ज्ञवाली, उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या : राजेन्द्र पाण्डे, अञ्जना विशंखे

नीति अनुसन्धान प्रतिष्ठान : झलनाथ खनाल, रामचन्द्र झा

तर दुवै पक्षबीच सहमतिमा जाने भन्ने भएपछि श्रेष्ठ प्रचार विभाग लिन तयार भए। पार्टीभित्र शक्तिशाली मानिने संगठन विभाग प्रमुखमा वामदेव गौतमलाई लगिएको छ। त्यसको उपप्रमुखमा माओवादी पक्षका जनार्दन शर्मा तोकिएका छन्। विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधव नेपाललाई दिइएको छ।

त्यसमा उपप्रमुखको जिम्मा माओवादी पक्षका राम कार्कीले पाएका छन्। अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति अनुसन्धन प्रतिष्ठानको संयोजक र रामचन्द्र झालाई उपसंयोजक तोकिएको छ। अध्यक्षद्वय र महासचिवबाहेक अन्य ६ जना शीर्ष नेताले विभागको जिम्मेवारी लिएका छन्।

अर्थ तथा योजना विभागको प्रमुख सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्याय तोकिएका छन्। स्कुल विभागको जिम्मेवारी दाबी गर्दै आएका नेता घनश्याम भुसाललाई भने प्रादेशिक मामिला विभागको जिम्मेवारी दिइएको छ। स्कुल विभागको उपप्रमुखमा माओवादी पक्षका देवेन्द्र पौडेल चुनिएका छन्। स्कुल विभागको सहमतिसँगै सचिवालयले ३२ वटै विभागका प्रमुख र उपप्रमुखको घोषणा गरेको छ। १८ वटा पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादी पक्षले लिएका छन्।

नेकपाका मन्त्रीहरूलाई विभाग प्रमुख बनाइएको छ। उद्योगमन्त्री मातृका यादवलाई उपभोक्ता हित तथा आपूर्ति, कृषिमन्त्री चक्रपाणि खनाललाई कृषि तथा भूमिसुधार, खानेपानीमन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाइ विभाग, गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामिला र सुशासन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निर्वाचन, पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्यटन प्रवर्द्धन र भौतिक योजनामन्त्री रघुवीर महासेठलाई भौतिक पूर्वाधार विभागको जिम्मेवारी दिइएको छ।

ऊर्जामन्त्री वर्षमान पुनलाई जलस्रोत, शिक्षामन्त्री गिरिराजमणि पोरखेललाई शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामान्य प्रशासन र श्रममन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभागकै नेतृत्व दिइएको छ।

पूर्वसभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई संसदीय, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सहकारी तथा गरिबी निवारण, युवराज ज्ञवालीलाई स्थानीय तह, राजेन्द्र पाण्डेलाई स्वास्थ्य विभाग र मणि थापालाई साहित्य कला विभाग प्रमुख तोकिएको छ।

विभाग प्रमुख टुंगो लगाउने सहमतिसँगै नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसमेत सचिवालयमा छिरेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पनि वरीयता माथि लैजानुपर्ने माग दोहोर्‍याएका छन्। एकताक्रममा अध्यक्षद्वयपछि तेस्रो स्थानमा माधव नेपाललाई राखिएपछि खनाल असन्तुष्ट थिए। एकता हुँदा खनाल चीन भ्रमणमा थिए।

नेपालभन्दा आफूले पहिले पार्टीको नेतृत्व गरिसकेको र पुरानो सदस्यता भएको व्यक्ति भन्दै खनाल असन्तुष्ट छन्। तत्कालीन एमालेमा नेपालभन्दा अगाडि नै उनको वरीयता थियो। एकताका क्रममा नेपाललाई खनालभन्दा अगाडिको पोजिसनमा राखिएको थियो। पार्टीको सचिवालय बैठकमा खनालले आफ्नो वरीयता घटाएको असहमति नै दर्ज गरेका थिए। त्यो विषय अहिले पुन: सचिवालयमा प्रवेश भएको छ।

 

प्रमुख राष्ट्रिय समाचार

* सत्तारुढ नेकपामा नेताहरुको जिम्मेवारी वाडफाँड टुङिगयो/नेता बामदेव गौतमका लागि उपाध्यक्ष पद सिर्जना 

* लाल आयोगको प्रतिवेदनमा दरबार हत्याकाण्डको समेत व्याख्या/क्षेत्राअधिकार वाहिर गएर प्रतिवेदन तयार पारिएको भन्दै वैद्यानिकतामा प्रश्न

* श्रमिकहरुको मासिक तलव बैंक मार्फत भुक्तानी गर्न उद्योग प्रतिष्ठानहरुलाई सरकारको निर्देशन/खाईपाई आएका अन्य सुविधालाई समेत सुनिश्चत गर्न आग्रह

* कस्मिर मुद्धालाई लिएर राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल/आन्तरिक मुद्धामा वाह्य हस्तक्षेप आवश्यक नभएको भारतको प्रतिकृया 

 र

* ला–लिगा फुटवलको उद्घाटन खेलमा एथ्लेटिको विल्वाओ विजयी/डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको अप्रत्यासित हार

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया