चित्त नबुझेका कुरामा समेत निर्णय लिनु पर्‍यो : अध्यक्ष दाहाल 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि भन्ने अनुभूत हुन थालेको बताउनु भएको छ । चित्त नबुझेका कतिपय कुरामा समेत निर्णय लिनुपर्ने बाध्यताबीच पार्टी एकीकरण गरिएको उहाँले सुनाउनुभयो ।

नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले काठमाडौंमा आज गरेको  कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता नगरेको भए आफूहरुसँग अरुनै विकल्प रहिरहने बताउनुभयो । आफूहरुले सबै विकल्प सकेर पनि आगामी दिनमा सफलता प्राप्त गर्न नसके कम्युनिष्ट आन्दोलन र राष्ट्रको भविष्य नै बर्बाद हुने चिन्ता रहेको उहाँले बताउनुभयो । 

मुलुकमा गणतन्त्र स्थापना, संघ प्रदेश र स्थानीय तहको निर्वाचन र पार्टी एकता लगायतमा आफूहरुले सफलता हासिल गरेको उहाँले सुनाउनुभयो । पार्टी एकताको विषयलाई लिएर झगडा भईरहेको भन्दै बाहिर हल्ला चल्ने गरेको भन्दै उहाँले सुदृढ एकता सहित राष्ट्रलाई हाक्ने पार्टीको रुपमा आफूहरु स्थापित हुने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले मुलुक निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा भएको भन्दै आफूहरुको उद्देश्य र रणनीति समाजवाद भएको बताउनुभयो । चुनावका बेला गरिएका प्रतिवद्धता र घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा गर्ने चुनौती पनि रहेको उहाँको भनाई थियो ।

नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको जानकारी दिंदै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताउनुभयो ।


प्रतिक्रिया