दूधको मूल्य सिजन अनुसार हुने

भाद्र २, २०७६ | काठमाडौं

दूधको मूल्य समायोजन सम्बन्धमा आवश्यक निर्णय गर्न गठित समितिले प्रतिलिटर ६ देखि १० रुपैयाँ बुझाउन सरकारलाई सिफारिस गरेको छ । दुई सिजन चैत देखि भदौ सम्म प्रति लिटर १० रुपैयाँ र असोज देखि फागुन सम्म प्रति लिटर ६ रुपैयाँ मूल्य बढाउन सिफारिस गरेको हो ।

सो समितिले मूल्य वृद्धि लगायतको सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । सरकारले दूधको मूल्य बढाउन एक साता अघि ८ सदस्यीय मूल्य सिफारिस समिति गठन गरेको थियो । केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले बजार विश्लेषण गर्न समिति गठन गरेको हो ।

सो समितिले आज सुझाव सहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनाललाई बुझाएको दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो । समितिले मूल्य निर्धारणका आधारहरू विश्लेषण, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण, व्यवस्थापकीय खर्च लगायतको विश्लेषण गरी सुझाव सहितको प्रतिवेदन आज मन्त्री खनाललाई बुझाएको हो ।

भोलि सम्ममा मन्त्रालयबाट निर्देशन आउने जानकारी दिंदै उहाँले त्यस लगत्तै संस्थानको बोर्ड बैठक बसेर आवश्यक निर्णय गरिने बताउनुभयो । समितिले बुझाएको सुझाव सहितको सो प्रतिवेदन मन्त्रालयलबाट अनुमोदन भएपछि दुग्ध विकास सस्थानको बोर्ड बैठकले आवश्यक निर्णय गरेर मूल्य कार्यान्वयन गर्ने जनाएको छ ।

दुग्ध सहकारी संघले बजार मूल्य बढेको तर, साढे २ वर्षयता मूल्य समायोजन नगरेको जनाउँदै यही भदौ १ गतेबाट लागू हुने गरी मूल्य बढाउन सरकारलाई दबाब दिएका थिए । संघले दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएपछि कृषि मन्त्रालय पनि मूल्य बढाउन सकारात्मक देखिएको हो । सहकारी संघले प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका थिए । डेरी उद्योगका अधिकारीहरूले भने ६ देखि ८ रुपैयाँसम्म बढाउन सुझाव दिएका थिए । 


प्रतिक्रिया