दूतावासबाटै पुनः श्रमस्वीकृति दिन बाटो खुला

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

नेपाली कामदारलाई विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति दिने कानूनी बाटो खुलेको छ । नेपाली कामदारले अब पुनः श्रमस्वीकृति लिनको लागि स्वदेश आउनुपर्ने बाध्यता हट्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौ पटक संशोधन गरी कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । सो व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्न तयारी थालेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले पुनः सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा मात्रै दुई लाख ७२ हजार जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बिमा र कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ । कल्याणकारी कोष र बिमाको रकम दूतावासमै बुझाउन सकिनेछ । बिदामा आएर पुन गन्तव्यस्थानमा फर्किने कामदारको श्रम स्वीकृतिको म्याद तीन महिनाको भए मात्रै अध्यागमनले विदेश जाने अनुमति प्रदान गर्ने गरेको छ ।

श्रम स्वीकृतिको अवधि भित्र दुर्घटना वा अंगभंग भएमा मात्रै वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधा प्राप्त गर्न सकिन्छ । श्रम स्वीकृतिको म्याद नसकिएको अवस्थामा कामदारको मृत्यु भएमा उसको परिवारले बीमा बापत कम्तीमा १० लाख र बोर्डबाट ७ लाख रुपैयाँ प्राप्त गर्न सक्छन् । यस्तै, मृतकको बालबालिकालाई सरकारले निशुल्क रुपमा १२ कक्षासम्म पढाइदिने व्यवस्था पनि गरेको छ र परिवारलाई उपचारका लागि ५० हजारसम्म दिने गरेको छ ।  


प्रतिक्रिया