बंगलादेशले रोहिंग्या मुस्लिम समुदायप्रति गरिने व्यवहारमा कडाई गर्ने

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

- बंगलादेशले रोहिंग्या मुस्लिम समुदायप्रति गरिने व्यवहारमा कडाई गर्ने भएको छ । म्यानमारमा भएको हिंसापछि आफ्नो मुलुकमा शरण लिइरहेका लाखौं रोहिंग्या मुस्लिम समुदायप्रति बंगलादेशले कडा नीति अवलम्वन गर्न लागेको हो । बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले रोहिंग्या मुस्लिमको आर्थिक भार सरकारले बहन गर्न  नसक्ने बताउनुभएको छ ।

बंगलादेश सरकारले म्यानमार फर्कन चाहनेहरुका लागि गत विहिबार बसको व्यवस्था गरेको थियो । यद्यपी सो बसमा एक जना शरणार्थी पनि नचढेपनि उनीहरु स्वतःस्फुर्त रुपमा नफर्कने बंगलादेश सरकारको निष्कर्ष छ ।

केही गैरसरकारी संस्थाहरुले म्यानमार नफर्कन गरेको अभियानका कारण पनि रोहिङग्या समुदायलाई स्वदेश फर्काउन नसकिएको विदेशमन्त्री मोमिनले बताउनुभयो । ७ लाख ४० हजार रोहिङग्या बंगलादेशको कोक्स बजारमा शिविरमा बसिरहेका छन् । शरणार्थीका कारण अपराध र हिंसा समेत बढेको बंगलादेश सरकारको निर्ष्कष छ । 


प्रतिक्रिया