डेंगुका कारण भयावह अवस्था नरहेको स्वास्थ्य मन्त्रीको दाबी 

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

उपप्रधान एवम स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले डेंगुका कारण भयावह अवस्था नरहेको दाबी गर्नुभएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप घट्दै गएकाले डराउनु पर्ने अवस्था नरहेको उपप्रधानमन्त्री यादवले प्रतिनिधि सभालाई जानकारी गराउनुभयो ।

हालसम्म ५६ जिल्लामा फैलिएको डेंगुका कारण ६ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । डेंगु नियन्त्रणका लागि सरकारले नेपालमा रहेको डब्लु एच ओ लगायत स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँग समन्वय भइरहेको पनि बताउनुभयो ।

२०६१ सालमा चितवनमा देखिएको डेंगु पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएकाले खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनु नै उत्तम विकल्प हुने उहाँको भनाई छ । विश्वव्यापी रुपमा नै डेंगु नियन्त्रणको कुनै औषधी नभएकाले फैलिन नदिन लामखुट्टे नष्ट गर्ने अभियानलाई प्राथमिकता दिनुपर्ने उपप्रधानमन्त्री यादवले बताउनुभयो । 

८५ वटा स्थानीय तहसँगै डेंगु फैलिएका प्रदेशमा केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो । लामखुट्टे नियन्त्रणका लागि फगिङ ग्यास प्रयोग गर्नु भनेको काम गर्दैछु भनेर राजनीति गर्ने विषय मात्र भएको उपप्रधानमन्त्री यादवले बताउनुभयो ।  


प्रतिक्रिया