युद्धविरामको आग्रह टर्कीद्वारा अस्वीकार

आश्विन २९, २०७६ | बीबीसी

सिरियाको उत्तरी क्षेत्रमा जारी युद्ध तत्काल रोक्न अमेरिकाले गरेको आग्रह टर्कीले अस्वीकार गरेको छ । अमेरिकी उप–राष्ट्रपति माइक पेन्स र विदेश मन्त्रीको टर्कीको भ्रमणको पूर्व सन्ध्यामा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोआनले युद्धविरामको प्रस्ताव अस्वीकार गर्नुभएको हो ।

अमेरिकाको समर्थन प्राप्त कुर्दिस लडाकुलाई भगाउन भन्दै टर्कीले आक्रमण तीब्र पारेको छ । कुर्दीस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स आतंकवादी संगठन भएको भन्दै टर्कीले उनीहरुलाई सिरियाली सीमाभन्दा टाढा धपाउने जनाएको छ ।

सिरियाको सीमामा रहेको ३० किलोमिटर क्षेत्रलाई शान्ति क्षेत्र बनाउने र लामो समयदेखिको द्वन्द्वका कारण विस्थापित भइ टर्कीमा बस्दै आएका सिरियालीलाई पुनस्र्थापित गर्ने योजना अंकाराको छ । 

रुसले पनि टर्कीका सेना र कुर्दिश समूहबीच जारी युद्ध रोक्न आग्रह गरेको छ । सो क्षेत्रमा टर्कीका सेना र कुर्दिश समूहबीच पछिल्लो समय जारी द्वन्द्वलाई अन्त्य गर्न रुसले आग्रह गरेको हो । रुस सिरियाको मुख्य सैन्य साझेदार राष्ट्र समेत हो  । 

यसअघि कुर्द लक्षित उत्तरी सिरियामा जारी सैन्य आक्रमण रोक्न दबाव दिन टर्कीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । अमेरिकाले टर्कीका दुई मन्त्रालय र तीन सरकारी अधिकारी माथि प्रतिबन्ध लगाएको हो । 


प्रतिक्रिया