रुपन्देहीको डण्डा नदीलाई पर्यटकीय केन्द्र बनाउने

कार्तिक १, २०७६ | रुपन्देही

फोहोर फाल्ने डम्पिङ साइट बनेको रुपन्देहीको डण्डा नदीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने भएको छ । नदीको संरक्षण र प्रवर्धन गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न भन्दै सिद्धार्थनगर नगरपालिकाले डण्डा नदी कोरिडोरको अवधारणा अघि सारेको छ ।

नगर क्षेत्रभित्र पर्ने नदीको १५ किलोमिटर क्षेत्रलाई  ५/५ किलोमिटर गरी तीन भागमा विभाजन गरेर बहुउद्देश्यीय पर्यटकीय अवधारणा अघि सारिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ९ र १२ को ५ किलोमिटरलाई कृषियोग्य भूमि, ३ र १३ को ५ किलोमिटरलाई मनोरञ्जन केन्द्र तथा १ र २ को ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रूपमा विकास गरिनेछ ।

मनोरञ्जन क्षेत्रको उत्तरमा पानीको फोहोरा, डोम गेट, खुल्ला मञ्च, एमपी थिएटर, बाल तथा वृद्धा उद्यान, क्याप्टेरिया लगायत बनाइने छ । बीचको शान्ति क्षेत्रमा बुद्ध मूर्ति सहितको बुद्धपार्क, ध्यान केन्द्र, बगैंचा, योगा केन्द्र, ग्लोबल प्लाजा, रक गार्डेन, जेन गार्डेन, जलचर गृह, सेड र शौचालय बनाइनेछ । 

बुद्धपार्कलाई बुद्ध धुनले गुन्जायमान गराइनेछ । सिद्धार्थनगरलाई  पर्यटकीय केन्द्रका रूपमा विकास गर्न नदीमा डुंगा सञ्चालन गर्ने समेत योजना छ । कोरिडोर निर्माणका लागि अहिले डीपीआर प्रक्रिया सुरु हुँदै छ । नगरपालिकाका वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले अनुमानित साढे ३ देखि ४ अर्ब रुपैयाँ लाग्ने भएकाले साझेदार संघसंस्था र प्रदेश सरकारसँग रकमका लागि सहयोग मागेको बताउनुभयो ।


प्रतिक्रिया