नागढुङ्गा–नौबिसे सुरूङमार्गको औपचारिक शिलान्यास हुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

- काठमाडौंको नागढुङ्गा–नौबिसे सुरूङमार्गको आज औपचारिक शिलान्यास हुँदैछ । मुलुककै पहिलो सुरुङमार्ग नेपाल र जापान सरकारको करिब  २२ अर्ब रुपैयाँ संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । आयोजनाको प्रधानमन्त्री केपी ओलीले अपरान्ह उद्घाटन गर्ने कार्यक्रम छ । सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्ने छ ।

लगानी बोर्डले गत असोज ६ गते जापानको हाज्मा एन्डो कम्पनीसँग निर्माण सम्झौता गरेसँगै आयोजना अघि वढ्ने आधार तय भएको हो । आज शिलान्यास भए पनि  जग्गा अधिग्रहण लगायत अन्य प्रक्रीया पुरागरेपछि आगामी डिसेम्बरभित्र सुरुङमार्ग निर्माण सुरु गर्ने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिनुभयो ।

सुरुङमार्ग साढे ३ वर्षभित्र सम्पन्न हुने छ ।  सुरुङमार्गको लम्वाई २ दशमलव ६८ किलोमिटर रहेको छ ।  मुख्य सुरूङसँगै अर्को आकस्मिक सुरूङको पनि निर्माण हुने आयोजना प्रमुख खरेलले बताउनुभयो ।  केही आकस्मिक घटना भए उद्दार र सहायताका लागि दोस्रो सुरूङ बनाउन लागिएको हो । 


प्रतिक्रिया