कार्तिक ३० देखि धिमाल फुटबल प्रतियोगिता हुने

कार्तिक ४, २०७६ | बिर्तामोड

कार्तिक ३० देखि मंसिर ५ सम्म ‘प्रथम धिमाल राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । झापाको बिर्तामोडस्थित धिमाल सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बिर्तामोड नगरपालिका ३ स्थित डोमालाल राजवंशी रंगशालामा हुने आयोजक समाजका अध्यक्ष मानबहादुर धिमालले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापा, मोरङ र भारतमा बसोबास गर्ने धिमाल जातिका युवाहरु सम्मिलित ९ वटा टिमको सहभागीता रहनेछ । मोरङको बेलबारी, पथरी, उर्लाबारी र कानेपोखरी तथा झापाको दमक, बिर्तामोड, मेचीनगर र आयोजक तथा भारत दार्जिलिङ जिल्लाको नक्सालबारी टिम सहभागी हुनेछन् । 

प्रतियोगिता सञ्चालन गर्न २१ लाख भन्दा बढीको बजेट खर्च हुने अनुमान गरिएको अध्यक्ष धिमालले बताउनुभयो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले प्राप्त गर्ने नगद पुरस्कार तय भईनसकेको उहाँले बताउनुभयो ।

धिमाल जातिका युवालाई खेलकुदका माध्यमबाट अगाडि बढाउन प्रतियोगिता आयोजना गर्न लागेको धिमाल जाति विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताउनुभयो । धिमाल जातीबाट विजय धिमाल, रजिन धिमाल लगायतका युवाहरु नेपाली राष्ट्रिय टोलीबाट समेत खेल्दै आएकोले फुटबलमा पनि भविष्य बनाउन प्रतियोगिताले ठूलो सहयोग पुग्ने केन्द्रका महासचिव केदार धिमालले विश्वास व्यक्त गर्नुभयो । 


प्रतिक्रिया