चाँदीको गहना सहित एक भारतीय नागरिक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | मकवानपुर

अवैध रुपमा ल्याउँदै गरेको चाँदीका गरगहना सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भन्सार छलेर ल्याएको ठूलो परिमाणको चाँदीका गहना सहित भारतको मोतिहारी आदपुर हरपुर–५ का १८ वर्षीय राकेश कुमार सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

हेटौंडा–२, देवीपथमा ना. १४ प २८३६ नम्बरको मोटरसाइकलको सुरक्षा जाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्याङकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुुुर प्रहरीले जनाएको छ ।

उनको साथबाट पाउजु ७१६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला, चम्चा ६५ तोला, थाली, आशन र बासुरी ११८ तोला, साँचो रिङ्ग १२२ तोला, सिन्दुर दानी ५४ तोला, मूर्ति १९१ तोला गरी एक हजार चार सय १५ तोला चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

सुनारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनको साथबाट बरामद चाँदीको गहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाएको भट्टराईले जानकारी दिनुभयो । 


प्रतिक्रिया