लामी रहमा बहुउद्देश्य उच्च बाँध

कार्तिक ४, २०७६ | बुटवल

रुपन्देहीको सैनामैना नगरपालिकास्थित लामीरहमा बहुउद्देश्य उच्च बाँध निर्माण हुने भएको छ । चुरे संरक्षण, जमिन मुनिको पानी रिचार्ज, सिंचाई र जलपर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित बाँध निर्माण योजना अगाडि बढाइएको हो । सैनामैना नगरपालिकाको अगुवाईमा राष्ट्रपति चुरे संरक्षण विकास समितिले काम गरेका छन् ।

लामीरह पूर्व–पश्चिम राजमार्गको मुर्गियादेखि करीब तीन किलोमिटर उत्तरमा पर्छ । जहाँ चुरेबाट बग्ने खप्पर खोला घेरिएर करीब ४० मिटर क्षेत्रफलमा फैलिएको छ । नगरप्रमुख चित्रबहादुर केसीले जल पर्यटन प्रवर्धन र सिंचाई सुविधा बढाउने मुख्य उद्देश्य सहित बाँध सहितको बहुउद्देश्य जलाशय पार्क निर्माण थालिएको बताउनुभयो ।

वर्षातको भेल सहितको पानीलाई बाँधमा संकलन गरेर माग र आवश्यकता अनुसार बाहै्र महिना उपयोग गर्ने र, आसपासमा सौन्दर्यीकरण गरेर पर्यटकको आगमन बढाइने छ । जलाशयको पानीमा  बोटिङ गर्ने, माछा पालन गर्ने, होटल, रिसोर्ट र वाटर फन पार्क सञ्चालन गर्ने सहायक योजना छ । 

राष्ट्रपति चुरे संरक्षण  विकास  समितिले ४० मिटर अग्लो बाँध सहितको जलाशय निर्माण गर्न चालू आर्थिक वर्षमा बाँधको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्दैछ । समितिको बुटवल कार्यालय प्रमुख अजय कार्कीले बाँध निर्माणको लागि पहिलो चरणमा ३० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । 


प्रतिक्रिया