वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा पोखराको सुखद अन्त्य

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

पोखरा पल्टनले काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग ट्वान्टी–२० क्रिकेटमा सुखद अन्त्य गरेको छ । प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको उसले अन्तिम खेलमा आज ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अंकबिहीन यात्रा टुङ्ग्याएको हो ।

ललितपुर भने अंक बिहीन हुँदै घर फर्केको छ । ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा कविता कुँवरले नटआउट ६१ र विन्दु रावलले ४० रन बनाईन् । ५ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै कविता र विन्दुले चौथो विकेटका लागि १ सय ६ रनको साझेदारी गरे । नेरी थापा र ममता चौधरीले समान २–२ विकेट लिएपनि पोखरालाई सस्तैमा समेट्न भने सकेनन् । 

यसअघि ममता चौधरी र कविता जोशीले अर्धसतकीय साझेदारी गरेपछि ललितपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । चौधरी ५२ रनमा नटआउट रहँदा जोशीले ३१ रन बनाईन् । ३९ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै उनीहरुले ७ ओभरमा ५१ रनको साझेदारी गरे । सम्झना खड्काले १० रन जोड्नु बाहेक अन्यले दोहारो अंकको स्कोर छुन सकेनन् । 

प्रतियोगिताको एलिमिनेटरमा भोली क्याट क्वीन्स काठमाडौं र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ । विजेताले उपाधिका लागि चितवन राईनोजसँग खेल्नेछ ।


प्रतिक्रिया