जुवाखालबाट वडा सदस्य र नेता सहित २५ पक्राउ

कार्तिक १२, २०७६ | लमजुङ

कौडा खेल्दै गरेको अवस्थामा लमजुङ प्रहरीले जनप्रतिनिधि (वडा सदस्य) र नेतासहित २५ जनालाई पक्राउ गरेको छ । सोमबार राती २ बजेतिर बेंसीसहर नगरपालिका ११, चिती तिलाहर नजिकै पुरानो कुखुराको खोरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी रबिन्द्रमान गुरुङले गोप्य सूचनाको आधारमा २५ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट २ लाख १६ हजार ४ सय ३० रुपैयाँ बरामद गरिएको बताउनुभयो । उनीहरुको साथबाट ३२ थान कोडासमेत बरामद गरिएको छ । २ खाल गरेर कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई समातेको उहाँले बताउनुभयो । 

प्रहरीका अनुसार बेंसीसहर नगरपालिका १ का ११ जना, बेंसीसहर नगरपालिका ११ का १२ जना र सुन्दरबजार नगरपालिका ९ का २ जनालाई पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका १ मा कांग्रेसबाट निर्वाचित वडा सदस्य गौबहादुर गुरुङ र नेकपा बेंसीसहर नगर कमिटी अध्यक्ष राजकुमार विष्ट लगायत छन् ।

प्रहरीका अनुसार उनीहरु कोही खेल्दै गरेका र कोही हेर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरु सवैलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ । विष्ट उक्त ठाउँकै हुन् भने गुरुङ छिमेकी वडाका हुन् । विष्टले घर नजिकै खेलेको भन्दै साथीहरुले बोलाएको र हेर्न गएको अवस्थामा प्रहरीको फन्दामा परेको दाबी गरेका छन् । 


प्रतिक्रिया