अयोध्या विवाद : सर्वोच्चले आज फैसला सुनाउँदै

कार्तिक २३, २०७६

- भारतको बहुचर्चित राम जन्मभूमि–बाबरी मस्जिद (अयोध्या) विवादमाथि त्यहाँको सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । आजको फैसलापछिको हुनसक्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गर्न निर्देशन दिएको छ । उत्तर प्रदेश सरकारले सोमबार सम्मका लागि स्कुल तथा कलेजहरु बन्द गर्ने घोषणा गरेको छ । उत्तर प्रदेशको अलिगढमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ । विहान साढे १० बजे सर्वोच्चले आफ्नो फैसला सुनाउनेछ । 

भारतको इतिहासकै सबैभन्दा लामो, संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रञ्जन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले फैसला सुनाउने छ । गोगोईले यसै महीना अवकास प्राप्त गर्ने भएकोले सो अगावै फैसला सुनाउन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।उत्तर प्रेदेशको अलिगढमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।  

 

    ६ डिसेम्बर १९९२ मा भाजपा निकट हिन्दू समर्थकहरूले अयोध्यास्थित बाबरी मस्जिद भत्काएपछि राम जन्मभूमि विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि विभिन्न चरणमा भएका  हिंसात्मक घटनामा सयौंको मृत्यु हुनुका साथै ठूलो धनजनको क्षति समेत भएको छ । सन् २०१० मा इलाहाबाद उच्च अदालतले विवादास्पद भूमिलाई रामलीला, निर्मोही अखाडे र मुस्लिम पवित्र भूमिका रूपमा तीन भागमा बराबर लगाउने निर्णय  गरेपनि सो निर्णय तीनै पक्षले अस्वीकार गरेका थिए । फैसलाविरुद्ध सर्वोच्चमा पुन: एक दर्जनभन्दा बढी रिट दायर छन् । ती सबै रिटहरूलाई भारतको सर्वोच्च अदालतले एउटै इजलासमा हेरिरहेको छ । हिन्दू र मुस्लिम समाजको आस्था जोडिएको करीब पौने तीन एकड जमिनका लागि चलिरहेको यो मुद्दा दशकौंदेखि अदालतमा रहेको छ । गत १६ अक्टोबरमा यस मुद्दामा ४० दिन लामो सुनुवाइ भएको थियो ।

 यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्च अदालतबाट हुन लागेको फैसलालाई समग्र देशले नै उत्सुकतापूर्वक हेरिरहेको बताउनुभएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै उहाँले समाजका सबै वर्गबीच सद्भाव कायम राख्न समेत आग्रह गर्नुभएको छ । अदालतको फैसलापछि पनि सबै मिलेर बस्नुपर्ने बताउँदै मोदीले सामाजिक– सांस्कृतिक संगठनहरु सौहार्द र सकारात्मक वातावरण बनाउनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । 


प्रतिक्रिया