किसानलाई घाँसको बीउ वितरण

कार्तिक २३, २०७६ | स्याङ्जा

स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई उन्नत जातको घाँसको बीउ वितरण गरेको छ । किसान सम्बन्धी विभिन्न संस्था तथा व्यवसायीक फर्महरुलाई अनुदानको रुपमा घाँसको बीउ वितरण गरेको हो । गल्याङ नगरभित्रका कृषि फर्म तथा व्यवसायीक कृषकलाई झण्डै १७ सय किलोग्राम घाँसको बीउ वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो ।   

अर्यालका अनुसार जै जातको घाँसको बीउ १६ सय किलोग्राम र बर्सिम जातको घाँसको बीउ ७० किलो ग्राम वितरण गरिएको छ । बीउ पाएपछि किसान उत्साहित भएका छन् । गल्याङ नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट दिइएको बीउको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो ।

अनुदानले मात्रै केही नहुने भन्दै किसान जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समयमा गल्याङ नगरभित्रका किसानमा उत्साह थपिएको देखेर काम गर्ने हौसला थपिएको उहाँको भनाई छ ।  

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘दूध किनेर खानुपर्ने नगरपालिकाबाट अहिले दैनिक २३ सय लिटर दूध निर्यात गर्न सकिएको छ । यो तपाईहरुकै कारणले हो ।’ किसानमा अझै उत्साह थपेर यस वर्षभित्र ५ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । आफू किसानका लागि भरिया र गोठालो भएको भन्दै अधिकारीले किसानका लागि सहयोग गर्न नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 


प्रतिक्रिया