इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालको दोस्रो हार

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कठिन बनेको छ । समूह बीमा रहेको नेपाल लिग चरणको अफ्नो अन्तिम खेलमा आज आयोजक बंगलादेशसँग ८ विकेटले पराजित भयो ।

सतप्रतिशत नतिजासहित ६ अंकमा शीर्ष स्थानमा रहेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी कै अहिले जारी ईण्डिया र हङ्कङ्बीचको खेलको नतिजाले सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ । हङकङको जितले अघिल्लो चरणमा प्रवेश गर्न नेपालको समेत बाटो खुल्नेछ । 

ढाकास्थित साभर क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य घरेलु टोली बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा नजमुल हुसेन सान्तोले नटआउट ५९ र मोहमद नैईमले ४५ रन बनाए । करण केसी र शुसन भारीले समान एक एक विकेट लिए ।

पहिला व्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । नेपालका लागि सोमपाल कामीले ३८ र क्याप्टेन ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए । पहिलो खेलमा ईण्डियासँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने हङकङलाई ४० रनले पराजित गरेको थियो । 


प्रतिक्रिया