पशुपन्छीको तथ्यांक संकलन सुरु 

मंसिर २, २०७६ | सल्यान

सल्यानको दार्मा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पशुपन्छीको तथ्याङ्क सुरु गरेको छ । तथ्यांक संकलनका लागि पशु शाखाले आफ्ना प्राविधिकलाई घरघरमा खटाएको छ । गाउँपालिकाको ६ वडा भित्रै १५ दिनमा पशुपन्छीको तथ्यांक संकलन गरिसक्ने पशु शाखा प्रमुख हस्तराम खडकाले बताउनुभयो ।

वडाबाट संकलन गरिएको तथ्याङ्कलाई एकीकृत गरेर गाउँपालिकाको विस्तृत विवरया तयार गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपालनको अवस्था, गाईभैंसी, बाख्रा, कुखुराको स्थानीय तथा उन्नत जात खुल्ने गरी फाराम विकास गरिएको छ ।

तथ्याङक संकलन गर्ने क्रममा किसानले प्रयोग गर्ने दाना, घाँस, आहाराको विवरण, खोरको अवस्था, पशुजन्य वस्तुबाट उत्पादन हुने आम्दानी सहितको विवरण आउने फारामको ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । ब्यवसायिक रुपमा पशुपक्षी पाल्न, जनतालाई आयआर्जनमा सहयोग पुग्ने गरी योजना बनाएर कार्यान्वयन गर्न तथ्यांकको आवश्यकता परेकाले संकलन सुरु गरेको उहाँको भनाई छ ।

पशुपन्क्षी पालनलाई ब्यवसायिक रुपले अगाडी बढाउन तथ्यांक संकलन गरिएको गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । तथ्यांक संकलन पश्चात उपयुक्त पसुपन्क्षी पालनको सम्भाब्यता भएको स्थानमा समूह बनाउने, तालीम दिने, औषधी उपलब्ध गराउने, बजारीकरनमा सहयोग पुर्‍याउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्यवसायीकरण गरेर घरघरमा पुगी प्राविधिक सेवा उपलब्ध गराईने छ । गाउँपालिकामा अहिले पाँच जना पशु प्राविधिक रहेका र तथ्यांक संकलन पश्चात किसानलाई तत्काल सेवा दिने गरी प्राविधिकको व्यवस्था गरिने उहाँको भनाई छ । ठूलो रुपमा पशुपन्छी व्यवसाय गर्नेलाई गाउँपालिकाले अनुदान दिने ब्यवस्था मिलाएको अध्यक्ष केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया