बुढीगण्डकी प्रभावितद्वारा आन्दोलिनको कार्यक्रम सार्वजनिक

मंसिर २, २०७६ | गोरखा

छिटो र उचित मुआब्जाको माग गर्दै बजार क्षेत्रका बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार राजनीतिक दल, जनप्रतिनिधि र प्रभावितको भेलाले पहिलो चरणको आन्दोलन सार्वजनिक गरेको हो ।

आयोजनाले डुबानमा पर्ने अन्य क्षेत्रको मुआब्जा निर्धारण भएर वितरण भईसक्दा बजार क्षेत्र अन्तर्गत गोरखा तर्फ आरुघाट र आर्खेत तथा धादिङको विशाल नगर र खहरे क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन । तीन वर्ष सम्म जग्गा रोक्का राख्दा घर खर्च चलाउनै मुस्किल परेको भन्दै प्रभावितहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोमबारको भेलालले मंसिर ४ देखि ९ गते सम्म चरणबद्घ आन्दोलन गर्ने निर्णय गरेको छ ।  कात्र्तिक चार गते संघीय सांसदसँग छलफल गरी आन्दोलनमा एक्यवद्धता जनाउन आग्रह गर्ने निर्णय भएको आरुघाटका प्रभावित दिनेश ढकालले बताए ।

५ गते गोरखा, ६ गते धादिङको जिल्ला प्रशासन कार्यालय र ९ गते घ्याल्चोक स्थित बुढीगण्डकी आयोजनाको कार्यलयमा धर्ना बस्ने कार्यक्रम तय भएको उनले बताए । त्यतिबेला सम्म पनि राज्यले आफूहरुको गुनासो नसुने थप कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको जनप्रतिनिधिले कात्र्तिक २६ सम्म मुआब्जा निर्धारण नगरे आन्दोलनमा उत्रने चेतवानी दिएका थिए ।

राजनीतिक दललाई समेत उपस्थित गराएर स्थानीयले आन्दोलनमा जाने निर्णय गरेका हुन् । सोमबार स्थानीयले छिटो मुआब्जा निर्धारणको माग गर्दै आरुघाट वजार दिनभर वन्द गरे । गोरखाको दोस्रो ब्यपारिक केन्द्रको रुपमा परिचित आरुघाट बजार बन्द हुँदा जनजीवन प्रभावित बन्यो । बैंक तथा वित्तीय संस्था पनि बन्द रहे । 

डुबानका कारण आफ्नो पुख्र्यौली भूमि छोड्नु पर्दाको मनोवैज्ञानिक पीडा, तीब्र बजारीकरण तथा घडेरी योग्य जग्गाको महत्व तथा ख्याती, जग्गाको मौजुदा अवस्था तथा उत्पादनशीलता र सुकुम्बासीहरु समेतको जीविकोपार्जनलाई सुगम हुने गरी न्यायोचित मुआब्जा निर्धारण हुनुपर्ने उनीहरुको माग छ ।

मुआब्जा निर्धारण समितिका संयोजक एवं गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मुआब्जा निर्धारण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । धादिङ तर्फ सम्पूर्ण प्रक्रिया पूरा हुँदा गोरखामा आवश्यक तयारी नभएको भन्दै गोरखाका प्रमुख जिल्ला अधिकारीको आलोचना हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले आयोजनाले ल्याएको प्रस्तावलाई आफूले स्वीकृत गर्ने काम गरेको बताउनुभयो । 


प्रतिक्रिया