अनावश्यक हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी 

मंसिर २, २०७६

साउथ चाईना सीमा अनावश्यक हस्तक्षेप नगर्न चीनले अमेरिकालाई चेतावनी दिएको छ । साथै ताईवानमा अनिश्चितता निम्त्याउने किसिमको भूमिका नखेल्न पनि चीनले भनेको छ । विश्वकै २ ठूला अर्थतन्त्र भएका मुलुकबीच जारी व्यापार युद्ध समाधानको पहलमा उच्चस्तरीय वार्ता जारी रहेका बेला चीनले यस्तो चेतावनी दिएको हो ।

व्यस्त जलमार्गमा चीनको दबदबा रहेको प्रति अमेरिकाका रक्षा मन्त्री मार्क एस्परले आपत्ति जनाएलगत्तै चिनियाँ रक्षा मन्त्री वेई फेन्घेले साउथ चाईना सीलाई लिएर तनाव बढाउने र उत्तेजित पार्ने काम बन्द गर्न चेतावनी दिनुभएको हो ।

साउथ चाईना सीमा चीनसँगै ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि दाबी गर्दै आएका छन् । तर, चीनले भने साउथ चाईना सी पूर्ण रुपमा आफ्नो भएको बताउँदै आएको छ । त्यहाँ निर्माण गरिएको कृत्रिम द्विपमा चीनले सैन्य गण स्थापना गरेको छ । चीनले साउथ चाईना सीमा सैनिकीकरण गरेको र क्षेत्रीय द्वन्द्व बढाउन चाहेको आरोप अमेरिकाको छ । 


प्रतिक्रिया