कांग्रेसको चुनावी एजेण्डा : सरकारको असफलता

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका असफलता केलाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपनिर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेसको घोषणापत्रमा ओली नेतृत्वमा सरकार गठन भएको २१ महिना पुगेको अवसरमा सरकारका २१ वटा कमजोरी औंल्याइएको छ । राष्ट्रियताको सवाल, संविधानप्रति अपनत्वको दायरा बिस्तार, सत्ताको सैद्धान्तिक चरित्र निक्र्योल, संघीयताको बांकी कार्यभार पूरा, कुटनीतिक मामिला लगायतमा वर्तमान सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको निष्कर्ष छ ।  

भारतले नेपालको कालापानी लगायतका भूमिहरु समेटेर नयाँ नक्सा सार्वजनिक गरेकाले ती भूभाग फिर्ता लिन वर्तमान सरकारलाईसम्पूर्ण रुपले साथ दिने प्रतिवद्धता कांग्रेसको छ । राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल मार्फत परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको कांग्रेसको दाबी छ । 

मूल्य वृद्धि, वाइड बडी खरिदमा भ्रष्टाचार, बुढीगण्डकी जलविद्युत आयोजनामा सरकारको बेवास्ता, मेलम्ची खानेपानी आयोजनामा खेलवाड, बालुवाटार जग्गा प्रकरण, प्रेस स्वतन्त्रता कायम राख्ने लगायत २१ बुँदामा कांग्रसले सरकारको कमजोरी औंल्याएको छ । आसन्न उपनिर्वाचनमा मतदाताले मतदान गर्नुअघि सरकारले गरेको कामको गहिरोसँग केलाउन जरुरी रहेको कांग्रेसले जनाएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताउनुभएको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले उपनिर्वाचन सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको बताउनुभयो ।

नेकपा नेतृत्वको वर्तमान सरकारले अधिनायकवादी सिद्धान्त अवलम्वन गरेपनि कांग्रेसले सरकारलाई अधिनायक बन्न नदिने प्रवक्ता शर्माले बताउनु्भयो । प्रवक्ता शर्माले रेमिट्यान्सको गौरव गरेर मात्र मुुलुक समृद्ध नहुने बताउनुभयो । सरकारले प्रधानमन्त्री रोजगारका नाममा नेपाली युवालाई भ्रममा राख्न खोजेको आरोप उहाँले लगाउनुभयो ।

०७४ मा सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेटलाई आत्मसात गर्दै कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरेको शर्माले बताउनुभयो । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिन जिम्मेवार प्रतिपक्षका रुपमा भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । 

कर्तव्य ज्यान मुद्दामा ललितपुरको नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा सांसद आफताव आलम बारे कानुन बमोजिम सबै प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता नेपाली कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेस कानुन पालनाका विषयमा प्रतिवद्ध रहेको बताउनुभयो । 

आफैंले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इाटाभट्टामा जलाएको आरोपमा आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् । कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको प्रवक्ता शर्माको भनाई छ । 


प्रतिक्रिया