आचार संहिता उल्लंघन गरी चुनावी प्रचार प्रचार  

मंसिर ४, २०७६ | धरान

निर्वाचन आचार संहिता उल्लंघन गरी सुनसरीमा राजनीतिक दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गरिरहेको पाइएको छ । उपनिर्वाचनको माहौलमा दलहरु भोट माग्न घरदैलो अभियानलाई तीब्र बनाइरहेका बेला निर्वाचन अधिकृतको कार्यालयको अनुमति बिना दलहरुले चुनावी प्रचारका लागि सवारी साधन प्रयोग गरिरहेको छन् । 

निर्वाचन सहायक अधिकृत निधिराम दाहालका अनुसार धरानमा प्रमुख पदका लागि १२ जना दलका र ११ जना स्वतन्त्र गरी २३ जनाले मनोनयन दर्ता गरेर चुनावी प्रचारमा जुटिरहेका छन् । उपमहानगर प्रमुखको एक उम्मेदवारका लागि एउटा चार पांग्रे सवारी साधन र दुई वटा मोटरसाइकल मात्र प्रयोग गर्न पाउने जनाएको छ । राजनीतिक दलका वा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारका लागि प्रयोग हुने ती सबै सवारी साधनको विवरण सहित निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ । 

सहायक अधिकृत दाहालले भन्नुभयो, ‘धरानमा हालसम्म संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर इजमले मात्र आयोगको अनुमति लिएर चुनावी प्रचारमा सवारी साधन प्रयोग गरेको देखिएको छ । अन्य ठूलासाना दलहरुले सवारी साधनको अनुमति लिएको देखिएको छैन ।’

उहाँले निर्वाचन आचार संहिता लागू भइसकेकाले अनुमति बिना चुनावी प्रचारमा प्रयोग भएका सवारी साधन कुनैपनि बेला प्रहरीले जफत गर्न सक्ने बताउनुभयो ।

यसैबीच नेकपाले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कांग्रेसले लगाएको लिखित उजुरीलाई निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । कांग्रेसले आचार संहिता लागू भइसकेको अवस्थामा धरान उपमहानगरपालिकाले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण प्रक्रिया गरेको र संस्थानका कर्मचारीलाई बोर्डमा समायोजना गरेको भन्दै आयोगमा उजुरी दिएको थियो । 

आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डमा संस्थानको कर्मचारी समायोजन गर्ने र सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदको पहिलेकै निर्णय भएकाले आचार संहिता प्रभावित नहुने जनाउँदै कांग्रेसको उजुरी खारेज गरेको हो । 


प्रतिक्रिया