झलकमान स्मृति दिवस आज 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

- नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विसं. १९९२ साल वैशाख १२ गते पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी गन्धर्वको कोखबाट पोखराको वाटुलेचौरमा जन्मिनुभएका झलकमान ९ वर्षकै उमेरदेखि सारंगी बजाउनुहुन्थ्यो ।

रेडियो नेपालमा सारंगी र मादल वाद्यवादकका रुपमा जागिरे गन्धर्व २०२४ साल कात्तिक १ गतेदेखि गायकको रुपमा काम गर्नुभएको थियो । उहाँका रेडियो नेपालमा २ सय ५० बढी गीत रेकर्ड भएका छन् । गन्धर्वका आमाले सोध्लिन्...,डाँफे चरी...,अल्लारे नानी..,राधा पियारी.., तिम्रो नै माया ..,बाला जोवन लगायत गीतहरु चर्चामा छन् । गन्धर्वले नारायणगोपाल स्मृति सम्मानदेखि इन्द्रराज्यलक्ष्मी पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गर्नुभएको छ ।

गन्धर्वको ६८ वर्षको उमेरमा २०६० साल मंसिर ६ गते काठमाडौंमा निधन भएको थियो । यसैबीच  आज उहाँको जन्मस्थल पोखराको वाटुलेचौरमा झलकमान स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरि सम्झिदै छ । 

 


प्रतिक्रिया