कावेली ए जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

कार्तिक १३, २०७४ | पाँचथर

ताप्लेजुङ र पाँचथरको सिमावर्ती काबेली खोलाबाट ३७ दशलमव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य शरु भएको छ । चिनियाँ कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजनाको सुरुङ निर्माण शुरु गरेको हो ।  

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहयोगमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन काबेली ए जलविद्युत आयोजना पूर्वी नेपालकै सबभन्दा ठूलो परियोजना हो । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको धुसेनीमा चिनियाँ कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन कम्पनीले जलविद्युत आयोजनाको सुरुङ खन्न थालेको हो ।

अमरपुरको धुसेनी खोलाखर्कदेखि ४ हजार ३ सय २७ मिटर सुरुङ खनेर पिनासेघाटमा विद्युतगृह निर्माण गर्ने योजना छ । त्यसमध्ये चिनियाँ टोलीले एक महिनाको अवधिमा ७५ मिटर पहुँच सुरुङ निर्माण गरेको झिजियाङ कम्पनीले जनाएको छ ।

सुरुङ निर्माणका लागि इन्जिनियर, प्राविधिक, चालक, श्रमिक लगायतको चिनियाँ टोली आयोजनास्थल पुगेको छ । चिनियाँ ठेकेदार कम्पनीले निर्माण कार्यमा आवश्यक सवारी, टिपर, स्काभेटर लगायत अन्य उपकरण समेत चीनबाटै ल्याएका छन् ।

 


प्रतिक्रिया