मेघौली विमानस्थल सञ्चालनमा

मंसिर १३, २०७४ | चितवन

-  लामो समयदेखि बन्द रहेको चितवनको मेघौली विमानस्थल आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल एयर लायन्सले अब हप्तामा ३ वटा उडान भर्ने छ । बन्द विमानस्थल पहिलो पटक सञ्चालनमा आएपछि स्थानीयमा खुशी छाएको छ ।

खुशीयालीमा स्थानीयले नेपाल एयर लायन्सको जहाज चढेर आउने यात्रु तथा चालक दलका सदस्यलाई माला र टीका लगाएर स्वागत गरेका छन् । त्यस्तै स्थानीय थारु महिलाले नृत्य मार्फत स्वागत गरेका थिए । विमानस्थलमा हात्ती समेत राखेर जहाज चढेर आउने पाहुनाको स्वागत गरिएको थियो । 

स्वागतमा मेघौली सेराई, साराङ वाइल्डलाइफ क्याम्प, होटल बाराही लगायत होटल तथा रिसोर्टका सञ्चालक, कर्मचारीहरु स्वागत गर्न पुगेका थिए । १९ सिटको जहाजमा सञ्चारकर्मी, नागरिक उड्ययन प्राधिकरणका कर्मचारी लगायत आएका थिए । दिउंसो १ बजेर ५० मिनेटमा आएको जहाज सांझ फर्किएको थियो । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर केशव लम्सालका अनुसार बुधबार, शनिबार र आईतबार एक/एक उडान हुने छ । 

नेपालीका लागि ३ हजार १ सय ६५ र विदेशीका लागि ९९ सय डलर भाडा लाग्ने छ । काठमाडौंबाट २७ मिनेटमा मेघौली पुगिने छ । मेघौली पर्यटन विकास समितिका पूर्व अध्यक्ष विश्व सुवेदिका अनुसार ०१७ सालमा सञ्चालनमा आएको विमानस्थल ०६९ सालबाट बन्द भएको थियो ।  

 

 


प्रतिक्रिया